अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाण्डुको टोलीले शुक्रबार पर्सा जिल्लाको बहुदरामाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र नायब सुब्बालाई पक्राउ गरेको छ ।
अख्तियारको केन्द्रीय टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई पक्राउ गरेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन् । प्रवक्ता थपलियाका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नं. १२ प्रतिमा चोक र नायब सुब्बा साहलाई वडा नं. ३ प्रगतिनगरबाट नियन्त्रणमा लिइएको छ ।
श्रीवास्तव र साहको साथबाट उनीहरुले प्रयोग गर्ने ४ थान मोबाइल समेत अख्तियारको टोलीले बरामद गरेको छ । अख्तियारको टोलीले उनीहरुलाई फरक फरक स्थानबाट शुक्रवार बिहान करिब साढे ११ बजे तिर पक्राउ गरेको बताइएको छ । यसअघि श्रीवास्तव पोखरिया नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत रहेका थिए । हाल उनी बहुदरामाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । नायब सुब्बा साह भने बहुदरामाई नगरपालिकामा नै कार्यरत्त रहेका छन् ।
अख्यितारका सहायक प्रवक्ता थपलियाले उनीहरुको साथबाट विद्युतिय उपकरणहरु ४ थान बरामद गरिएको पुष्टि गरेका छन् । श्रीवास्तवमाथि योजना स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा संगठित रूपमा अनियमितता गर्दै अवैध घुस असुली गरेको आरोपसहितको पटक– पटक उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा परेको बताइएको छ ।
प्रारम्भिक चरणको अनुसन्धानमा नै गम्भीर अनियमितताको संकेत भेटिएकोले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । अख्तियारको टोलीले श्रीवास्तवलाई पोखरिया नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा पक्राउ गरे पनि बहुदरामाई नगरपालिकामा अनियमितता भएको विषयमा समेत अनुसन्धान हुने बताइएको छ ।
पोखरिया र बहुदरमाई नगरपालिकामा लगातार बढेका गुनासोपछि उनीहरुलाई निगरानीमा राखिएको थियो । प्रारम्भिक प्रमाण संकलनपछि अख्तियारले कारबाहीको प्रक्रिया अगाडि बढाएको बताइएको छ । आयोगको टोलीले पोखरिया नगरपालिकामा शुक्रबार नै छापा मारेको छ । छापामारीमा पोखरिया नगरपालिकाको लेखा, योजना, प्रशासनलगायतका विभिन्न शाखाबाट आवश्यक कागजातहरु नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार, पोखरिया नगरपालिकाले अनधिकृत कर्मचारी भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, बजेट विनियोजन र योजनाको कार्यान्वयनमा खुलेआम कानुन मिच्दै भ्रष्टाचार गरेको उजुरीका आधारमा यो छापा मारिएको हो । प्रारम्भिक अनुसन्धानमै गम्भीर अनियमितताको संकेत भेटिएपछि अख्तियारले पूर्ण तयारीका साथ छापा मारेको जनाइएको छ ।
पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरुले विभिन्न योजनाहरुको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरुमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंहको एकथान मोबाइल नियन्त्रणमा लिएको सहायक प्रवक्ता थपलियाले जनाएका छन् । उनले जनाए अनुसार पोखरिया नगरपालिका वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट समेत एक थान मोबाइल अख्तियारको टोलीले बरामद गरी थप अनुसन्धान भइरहेको छ ।
स्रोतका अनुसार श्रीवास्तव पोखरिया नगरपालिकामा प्रशासकीय अधिकृत रहेको बेला योजनाहरुको बिक्री, स्वीकृतिमा रकम लिने गरेको कयौं उजुरी अख्तियारमा परेको थियो । श्रीवास्तवले नायब सुब्बा साहसित मिलेमतो गरी नगरपालिकामा अनेक शीर्षकमा भारी अनियमितता गरेको आरोप लाग्दै आएको थियो । तर पछि उनी बहुदरामाई नगरपालिकामा आए पनि अनियमितता रोकिएन । मोबाइल बैंकिंगबाट उनीहरुले अवैध रुपमा रकम ट्रान्सफरको काम गरेको आशंका गरिएको छ ।
अख्तियारको टोली पोखरिया नगरपालिकामा प्रवेश गरेपछि कयौं कर्मचारीहरु लुकेको बताइन्छ । उनीहरु फाँट छाडेर लुकेका थिए । यद्यपि अख्तियारको अनुसन्धान टोलीले पोखरियाबाट कसैलाई नियन्त्रणमा लिएको छैन । प्रमुख प्रशासकीय अधिकृत सिंह र वडा नम्बर २ का सचिव चौरसियाको मोबाइलबाट रकम ट्रान्सफर भएको स्रोतले जनाएका छन् । स्रोतका अनुसार उनीहरुको मोबाइल अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।



