२०८२ असार ९, सोमबार ०७:५८

सर्लाही जिल्लाबाट निर्वाचित स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले देशका शीर्ष नेताको ४ वटा जिल्लामा मात्रै बजेट केन्द्रित रहेर सदनमा पेश भएको आरोप लगाउँदै ५ जिल्ला बाहेकका जिल्लालाई लिजमा दिनुपर्ने धारणा राखेपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गरे ।

सांसद सिंहले सरकार अनियमित तरिकाले बजेट विनियोजन गरेको गम्भीर आरोप लगाए । ‘४ –५ जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्लालाई लिजमा दिऔं अर्को देशलाई । अमेरिकालाई दिऔं, चाइनालाई दिऔं, भारतलाई दिऔं । ती जिल्लामा बजेट नै जाँदैन भने किन राख्ने ? खाली कर लिनलाई राख्ने ? ’ सांसद सिंहले भने ।

साँसद डा. सिंहको अभिव्यक्ति प्रति एमालेका प्रमुख सचेतक बर्तौलाले प्रतिवाद गर्दा केही वेर सदनमा चर्काचर्की भएको थियो । खर्च कटौती र बिनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै साँसद सिंहले शीर्ष नेताको ४ जिल्लाको लागि मात्रै बजेट केन्द्रित रहेको तथा बाँकी जिल्ला नेपाल नै नरहेको जस्ता व्यवहार सरकारले गरेको प्रश्न उठाएपछि एमालेका प्रमुख सचेतक बर्तोलाले प्रतिवाद गरेका थिए । उनले प्रतिवाद गरेपछि केही बेर संसदमा आरोप प्रत्यारोप चलेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सर्लाही जिल्लामा बजेट नै बिनियोजन नगरेको आरोप छ । बजेटमाथिको छलफलमा बोल्न रोष्टम पुगेका सांसद सिंहले सुरुमै आफूलाई सत्तापक्षका एकजना सांसदले बजेटमा सधैं किन बोलेको भनेर प्रश्न गरेको उल्लेख गर्दै आफ्ना धारणा राखेका थिए । आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत बजेटप्रति प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु खुसी रहेको उनले आरोप लगाए । आ–आफ्नो निर्वाचन क्षेत्रमा अधिकतम् बजेट हाल्न सकेकोमा उनीहरु खुसी भएको सांसद सिंहले टिप्पणी गरेका थिए । ‘बजेटमा जसले मन्त्री बनाएको छ त्यो नेता खुसी छ कि छैन ?

सत्तापक्षको प्रमुख घटकको सभापति खुसी छ कि छैन ? उहाँको जिल्लामा बजेट गएको छ । बाँकी सांसद किन बोल्नुहुन्छ ? ’ भनेर आफूलाई सत्तापक्षकै सांसदले भनेको र यस्तो भन्ने यही सदनमा रहेको उनले इंगित गरेका थिए । काठमाण्डुमा ३ करोडका दरले १ सय ३१ वटा योजना रहेको उनले बताए । तर, आफ्नो जिल्लामा ३०÷३५ वटा योजना समेत नरहेको गुनासो गरे ।

काठमाण्डुले जति पाएको हो त्यति नै भाग चाहिन्छ भनेर आफूले नखोजेको तर, बजेट विनियोजन आवश्यकताका आधारमा हुन नसकेको उनले बताए । बजेटलाई निजी सम्पति झैँ ठानेर वितरण गर्ने कार्य भएको उल्लेख गर्दै सिंहले सरकार माथि प्रश्न उठाए । कैलालीमा गेटा मेडिकल कलेज बनाउने भनेर आउँदा सबैले ताली बजाएको भन्दै उनले भने, मधेशमा एउटा पनि मेडिकल कलेज किन नखोल्ने ? सांसद सिंह बोलिरहँदा नेकपा एमालेका मुख्य सचेतक बर्तौलाले नियमापत्ति गरे ।

सांसद सिंहले आपत्तिजनक विषय राखेको भनेर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउँदा उनले सिंहको अन्य जिल्लाहरु लिजमा दिन भनेको वाक्य संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । विनियोजन शीर्षकमा छलफल गर्दा नेपालको भूमिलाई अर्को देशलाई दिने भनेको र यो राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै बर्तौलाले नियमापत्ति गरेका थिए ।

सांसद सिंहले आफूले गाभ्ने नभनेर बजेट नपरेका जिल्लालाई लिजमा दिने भनेर व्यङ्ग्य गरेको प्रष्टीकरण दिन खोजे । एमालेका मुख्य सचेतक बर्तौलाले सांसद सिंहको अभिव्यक्ति आपत्तिजनक रहेको दोहोर्याउँदै संसदको रेकर्डबाट हटाउन माग गरे । सांसद सिंहले मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको विरुद्धमा बोलेको बर्तौलाले बताए ।

सांसद सिंहमाथि कारबाही नै हुनुपर्ने माग उनले राखे । सभामुख घिमिरेले सांसद सिंहलाई संसदीय अभिव्यक्ति दिन आग्रह गर्दै थप विषय राख्न आग्रह गरेका थिए । तर, सांसद सिंहले आफूलाई हतारमा निर्देशन दिएको भनेर असन्तुष्टि जनाए । एमालेले जे भन्छ त्यही निर्देशन हुन्छ भने एमालेको सभामुख हुने बताए । ५ जिल्लालाई बजेट दिने बाँकीलाई बजेट नदिने विषय उचित नरहेको बताउँदै उनले भने, ‘४–५ जिल्लामा बजेट दिने बाँकीमा किन नदिने ? संसदमा बोल्न पाउनुपर्ने र बजेटमा समानता हुनुपर्ने माग उनले राखेका थिए ।

Comment


Related News