२०८२ असार ९, सोमबार ०८:०४

प्रदेश सरकारद्वारा नवनियुक्त मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष कमल कुमार उपाध्याय एवम बाराको पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनीहरूलाई दोषी ठहरको फैसला गरेको छ । फैसलाअनुसार कमल कुमार उपाध्याय र श्यामप्रसाद यादवलाई जनही ६–६ महिना कैद सजाय तोकिएको छ । उनीहरूका साथै केएस मल्टिपर्पस प्रालिलाई पनि सजाय सुनाइएको छ ।

तीनैजना प्रतिवादीबाट बिगोको दामासाहीले हुन आउने रकम एक लाख १७ हजारभन्दा बढी जरिवाना तिर्नुपर्ने फैसलामा छ । साथै पीडित राहत कोषमा तीनै जनाबाट ४७ सय रुपैयाँ भराउन फैसला भएको विशेषले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहि ९ वैशाखमा मुद्दा दायर गरेको थियो । यादव, उपाध्याय र कम्पनीका साथै लेखापाल हसिम मियाँसमेत प्रतिवादी रहेकोमा मियाँले सफाइ पाएका छन् । उनीविरुद्धको अभियोग ठोस प्रमाणबाट पुष्टि नभएको तथा हाकिमको तोक आदेशबमोजिम काम गरेकोले दोषी ठहर गर्न नमिल्ने फैसलामा छ । उक्त नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर केएस मल्टिपर्पसका सञ्चालक उपाध्याय समेतको मिलेमतोमा भ्रष्टाचार गरेको ठहर विशेषले गरेको हो ।

ठेक्काको अभिलेख राख्ने प्रयोजनका लागि मात्र भनी प्रभाव दैनिकमा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेर त्यसको आधारमा भुक्तानी गरेको भेटिएको थियो ।

Comment


Related News

Latest News

Trending News