
हुलाक निर्देशनालय धनुषाको आयोजनामा स्थानीय हुलाक प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम आइतबार जनकपुरधाममा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरूले हुलाक सेवामा देखिएका वर्तमान चुनौती, सुधारका उपाय र आधुनिक प्रविधि प्रयोगमार्फत सेवा प्रभावकारिता वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डलले हुलाक सेवा अझ प्रभावकारी बनाउन स्थानीय तह र हुलाक प्रशासनबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

उनले पुरानो संरचनामा आधारित हुलाक सेवालाई समयानुकूल आधुनिक प्रविधिसँग जोडेर नागरिकलाई सहज र भरपर्दो सेवा दिनुपर्ने आवश्यकतामा जोड दिदै त्यसका लागि सबै तहका सरोकारवालाबीच समन्वय हुनुपर्ने बताए । हुलाक निर्देशनालयका लालकुमार झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका हुलाक प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।