२०८२ असार १०, मंगलवार ०६:५०

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । सो बजेट चालु आर्थिक वर्षभन्दा करिब ३३ करोड रुपैयाँ बढी रहेको छ ।

वीरगञ्ज महानगरको विकासका लागि महत्वाकांक्षी योजनाहरूलाई विशेष प्राथमिकता दिइएको छ । वीरगञ्जमा सोमबार महानगरपालिकाको १७ औँ नगरसभाको अधिवेशनमा उपप्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ७०.२४ प्रतिशत (२ अर्ब २६ करोड ५० लाख ४९ हजार), पुँजीगत खर्चतर्फ २८.६४ प्रतिशत (९२ करोड ३४ लाख) र वित्तीय व्यवस्थापनतर्फ १.१२ प्रतिशत (३ करोड ६४ लाख) छुट्याइएको छ।

आन्तरिक राजश्व, सङ्घीय तथा प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरण, राजश्व बाँडफाँट, घरजग्गा रजिस्ट्रेसन शुल्क र नगद मौज्दातबाट बजेट बेहोरिने उपप्रमुख आलमले जानकारी दिए । सो बजेट प्रस्तुत गर्नुअघि महानगरका मेयर राजेशमान सिंहले ९० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, जसमा वीरगञ्जको पर्यटन प्रवद्र्धनका लागि केही महत्वाकांक्षी र ऐतिहासिक महत्त् वका योजनाहरू समावेश गरिएका छन्। मेयर सिंहका अनुसार, शिक्षा, स्वास्थ्य, सरसफाइका साथै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

ऐतिहासिक ‘अलौ पर्व संग्रहालय’ र ‘रेल्वे म्युजियम’ निर्माण यस नीतिको प्रमुख आकर्षण हुन्। मेयर सिंहले १९०४ साल साउनमा भएको ‘अलौ पर्व’को स्मृति संरक्षण गर्न र भावी पुस्तामा ऐतिहासिक चेतना प्रवाह गर्न ‘अलौ पर्व सङ्ग्रहालय’ निर्माण गरिने बताए। यस संग्रहालयमा अलौ पर्वसम्बन्धी ऐतिहासिक अभिलेख, सामग्री, चित्र, प्रतिकृति तथा दस्तावेजहरू राखिने जनाइएको छ ।

त्यस्तै नेपालको पहिलो रेल सेवा (रक्सौल–अमलेखगञ्ज) प्रारम्भ भएको ऐतिहासिक सहर वीरगन्जमा रेलवे सेवा स्थापनाको १०० वर्ष पुगेको अवसरमा पुराना रेल्वे संरचनाहरूको संरक्षण र पुनः प्रयोग गर्दै ‘रेल्वे म्युजियम’ निर्माण गरिने योजना अगाडि बढाइनेछ। घण्टाघर आसपास वर्षौंदेखि खाली रहेको सार्वजनिक जग्गामा ‘बिपी उद्यान’ निर्माण गरी वीरगन्जलाई थप हरियाली र आकर्षक बनाउने लक्ष्य पनि राखिएको छ ।

महानगरले स्वास्थ्य सेवामा सुधारका लागि ‘महानगर नमुना अस्पताल’ (वीरगञ्ज–२८ बगहीमा), ‘सहुलियत दरको ल्याब सेवा’ (वीरगन्ज–२३ मा) र वीरगन्ज– १६ इनर्वामा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गर्ने योजना ल्याएको छ। साथै, ‘महानगर फार्मेसी’ सञ्चालनमा ल्याएर आम नागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

शिक्षा क्षेत्रमा पनि महानगरले ठूला परिवर्तनको घोषणा गरेको छ। महानगरका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक स्मार्ट कक्षा’ र आधारभूत तहका सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्न ‘एक विद्यालय, एक ल्यापटप र एक प्रिन्टर’ कार्यक्रम लागू गरिनेछ । वीरगञ्ज–१० आदर्शनगरमा रहेको पुस्तकालयलाई आधुनिकीकरण गरी ३२ वटै वडामा सामुदायिक पुस्तकालय स्थापना गरिनेछ ।

कक्षा १० का विद्यार्थीलाई लक्षित गरी एसईई परीक्षाको तयारीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिने पनि मेयर सिंहले बताए । स्थानीय भोजपुरी भाषा र संस्कृतिको संरक्षण, अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यले वीरगन्जमा अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन आयोजना गरिने योजना पनि समावेश गरिएको छ ।

मेयर सिंहले ‘वैभव वीरगञ्ज’को रूपमा रूपान्तरण गर्ने आफ्नो संकल्प र वीरगन्जवासीको चाहनालाई मूर्त रूप दिन आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण, प्रभावकारी शिक्षा तथा स्वास्थ्य प्रणालीको प्रवद्र्धन, धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको संरक्षण, सुशासनसहितको डिजिटल प्रशासन, योजनाबद्ध सहरी विस्तार र स्वच्छ, सफा तथा सुन्दर वीरगञ्जको पहिचान निर्माणका योजनाहरूलाई बजेटमा प्राथमिकता दिइएको छ ।

Comment


Related News

Latest News

Trending News