धनुषाको नगराईन नगरपालिकास्थित एक वडाध्यक्षको उपद्रवी कार्यशैलीको विरोध गर्दै थालिएको अनिश्चितकालीन अनसन तोडेको छ ।
नगराईन नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको कार्यशैली र गुण्डागुर्दी व्यवहारको विरोधमा जटहीमा दुई दिनदेखि स्थानीय रोहित चौधरीले थालेको अनिश्चिकालीन अनसन नगराईन नगरपालिकाका मेयर विनयकुमार यादवको पहलमा तोडेका छन् । चौधरीको दुई बुँदे माग पूरा गर्ने वाचा गरेपछि मेयर यादवले जुस खुवाएर अनसन तोडाएका थिए ।
सो क्रममा मेयर यादवले कार्यवाहक वडाध्यक्षलाई कारबाही गर्ने र जटहीमा भएको घटनाप्रति खेदप्रकट गर्दै सोको क्षतिपूर्तिको व्यवस्था गरिने भनेपछि अनसनकारी चौधरीले अनसन तोडेका छन् । जटहीमा कावा वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा परिचालन गरिएका युवाहरुको एक समूहले उपद्रव मचाउँदै तीनजना महिलासहित पाँचजनामाथि दुव्र्यवहार तथा कुटपिट र फलफूलको बोटवृक्षसमेतमा क्षति पुर्याएको भन्दै स्थानीय रोहित चौधरीले अनिश्चितकालीन अनसन थालेका थिए ।
दुई दिन अघि कावा वडाध्यक्ष मण्डलको उपस्थितिमा भएको घर तोडफोड, बोटवृक्ष कटान र दिनदहाडै लुटपाटसहितको घटना घटनाइएको थियो । सो घटनामा उर्मिला देवी चौधरी, ज्योति चौधरी, अनिता चौधरी, सत्यम् चौधरीलगायतमाथि दुव्र्यवहारसहित कुटपिट गरेको थियो । सो क्रममा अनिता चौधरी र उर्मिला चौधरीले घाँटीमा लगाएको सुनको सिक्रीसमेत ती समूहले लुटेर लगेको उनीहरुले आरोप लगाएका छन् ।
ज्योतिको हातमा रहेको मोवाइल पनि खोसेर पोखरीमा फालेको उनको भनाइ छ । एकाएक एक हुल प्रवेश गरी घरभित्रका खाद्यान्न, लत्ताकपडा, नयाँ घर बनाउनका लागि राखिएको ८ थान सखुवाको झ्याल, केही थान ढोकासमेत लगेको दुखेसो नारायण चौधरीले पोखे । दुर्गा मन्दिर अगाडिमा रहेको पोखरीको डिलको उत्तरतर्फ अवस्थित बाटो छाडेर चारजनाको घर शनिबार विदाको मौका छोपेर कार्यवाहक वडाध्यक्ष मण्डलले करिब दुई सय जति युवाको एक समूह परिचालन गरी फलफूलसहितको बोटवृक्ष उखालेका छन् भने सो घरमा बस्दै आएकाहरुलाई घरबारविहीन बनाउँदै कुटपिट गर्दै चारजनाको घरसमेत भत्काएको थियो ।


