
नेपाल-भारत द्विपक्षीय सुरक्षा परामर्श समूह को सोह्रौँ बैठक भारतको पुणेमा सम्पन्न भएको छ। बैठक ९ र १० गते दुई दिन बसेको थियो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्र राजभण्डारीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरे। दुवै देशका परराष्ट्र तथा रक्षा मन्त्रालयका साथै नेपाली र भारतीय सेनाका निर्देशकहरूको समेत सहभागिता थियो।

बैठकमा दुवै पक्षले सुरक्षा तथा रक्षा सहयोगसम्बन्धी विविध विषयहरूमा फलदायी छलफल गरेका थिए। छलफलमा उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापन सहयोग र सैनिक आदानप्रदानलगायतका विषयहरू समेटिएका थिए।
साथै, प्रतिनिधिमण्डलले भारतका प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका रक्षा उपकरण निर्माण उद्योगहरूको अवलोकन समेत गरी परस्पर लाभदायक सहकार्यका सम्भावनाहरूको खोजी गरेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।
सन् २००३ मा स्थापना गरिएको यो समूह नेपाल-भारतबिचको समग्र सुरक्षा तथा रक्षा सहयोग समन्वय गर्ने प्रमुख संस्थागत संयन्त्र हो।