२०८२ असार १३, शुक्रबार ०६:५६

रौतहटको बागमती बाँधका वासी अचेल रातिको निन्द्रा नै हराएको छ । जिल्लाको दुर्गाभगवती गाउँपालिका–५ स्थित बडहर्वाका ४७ वर्षीय बुतहीदेवी ठाकुरको परिवार अचेल रातिको समयमा राम्ररी सुत्दैनन् । तीन दशकदेखि ठाकुर परिवार वर्षेनि यस्तै नियति भोगिरहेको छ । बागमती बाँधको आडैमा आश्रित झन्डै ३ सय घर परिवार अचेल सुत्दैनन् । विगतका वर्षाको बेला हुने घटनाको लामै लेखाजोखा छ । त्यो बयान गर्दा बुतहीको अनुहारमा आक्रोश पनि झल्किन्छ ।

गत वर्ष साउनको पहिलो साता । आकाशमा बादल मडारिन थाल्यो । बागमती बाँधको आडैमा बस्दै आएका बुतहीका लागि त्यो सामान्य वर्षाको दिनजस्तै थियो । तर रातभर परेको पानीले गाउँ नै डुबानमा परेको थियो । परिवारले राति नै घर छोड्नु परेको थियो । उनीहरु बाँधमा गएर शरण लिए । डुबानले काठको घर भत्कियो । लत्ता, कपडा, खाद्यान्न, भाँडाकुडा पानीले केही पनि बाँकी राखेन । भोलिपल्ट स्थानीय प्रशासनले राहत वितरण शुरु गरेको छ । त्रिपाल र केही खाद्यान्न बाँडेर टोली फर्कियो । सोमबार गाउँ पुग्दा बाँधको आडैमा बसेका महिलाहरु पीडा पोख्न जम्मा भए ।



बागमतीको भेल र पानीको सतह कहाँसम्म आउँछ भनेर देखाउन थाले । लामो समयदेखि उनीहरु स्थायी बसोबासको प्रतीक्षामा छन् । गत वर्ष असारमै लगातार पानी परेर घर डुबानमा परेपछि बडहर्वाका अधिकांश बासिन्दाले रातारात ड्याममा उक्लेर ज्यान जोगाएका थिए । बागमती नदीको पश्चिमतर्फ ड्याम बनाइएको छ । ड्यामको आडैमा बडहर्वा र चण्डियाका ३ सय परिवारको बसोबास छ ।

तराई, मधेशका जिल्लामा प्राकृतिक विपत्तिको सधैँ त्रास हुन्छ । त्यसमा पनि रौतहटमा बागमती र लालबकैयाको बाढी बस्ती पसेपछि बर्सेनि डुबान हुँदै आएको छ । २०७६ साउन अन्तिम साता बागमतीको बाढी गाउँ पसेपछि बाँधमुनि बसेका ३ सय घर डुबानमा परे, केही बगे । यसपालि पनि यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ता लागेको छ, स्थानीय इन्दु दासलाई । लामो समयदेखि प्राकृतिक प्रकोपले पनि खेदेको खेदै गरेको भन्दै स्थानीयले सुरक्षित बासस्थानको माग गर्दै आएका छन् ।

बडहर्वाका ६५ वर्षीय सुखल दासको पीडा पनि बुतहीको भन्दा कम छैन । गत वर्षको डुबान सम्झेर उनी झस्किन्छन् । मध्यरातमा घर डुबानमा परेपछि ज्यान जोगाउन उनीलगायत परिवारका सदस्य बाँधमाथि उक्लेर रात बिताए । भारत सरकारले बागमतीको बाढीबाट हुने क्षति रोक्न पश्चिम क्षेत्रमा सन् १९८९ मा झन्डै ३३.५ किलोमिटर लामो बाँध निर्माण गरेको छ । त्यही बाँधमुनि दुर्गाभगवती र राजदेवी नगरपालिकाका परिवारको बसोबास छ । अधिकांशको घर पश्चिमतर्फ पर्छ । रश्मिदेवी दासको घर भने बाँधको पूर्वपट्टि छ । जहाँ बागमतीमा बाढी आउनासाथ उनको घर सबैभन्दा पहिले डुबानमा पर्छ । गत वर्ष बागमती नदीमा आएको बाढीले उनको घर डुबानमा पा¥यो । दास परिवार पनि २०५० सालको बाढीले घर र ५ कठ्ठा खेत बगाएपछि विस्थापित भएका हुन् । अहिले एकधुर पनि नम्बरी छैन । बाँधमुनिको सबै ऐलानी जग्गा हो । २०५० असार २९ गते बागमती नदीमा भीषण बाढी आएपछि बडहर्वा र चण्डियाका ३ सय घर परिवार विस्थापित भए । अधिकांशको खेतबारी बगाएर बगरमा परिणत भयो । घर बगे । ७ जनाको मृत्यु भयो ।

स्थानीयको २ सय बिघा जमिन छिनभरमै बलुवामा परिणत भयो । अहिले पनि खेतीयोग्य जमिनमा बागमती नदी बगिरहेको छ । बाढीपछि बाँधमुनि बसेकाहरुले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । बागमती, लालबकैया र भारतले एकातर्फी रुपमा लगाएको गौर सीमाक्षेत्रको बाँध हेरेर फर्कने धेरै मन्त्री, सांसद छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा २०७६ साउन २३ गते यही डुबान हेर्न बडहर्वा बस्ती पुगेका थिए । तर हेरे फर्किए, समस्या जहाँको त्यहीँ छ । ठोस र दीर्घकालीन योजनासहित तराई मधेशलाई डुबान र बाढीबाट जोगाउने काम नभएको भन्दै स्थानीयले दुखेसो पोख्दै आएका छन् । सरकारका मन्त्रीहरु राष्ट्रिय सभाका अध्यक्ष, विकास समितिका सभापतिलगायत मधेश प्रदेशका मुख्य मन्त्री आएर डुबान र सिमाक्षेत्रको बाँध निरिक्षण गर्दै फर्किंदै गरेका छन् ।

भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनिया लगायतका बिहारको सहर बचाउन रौतहटको सीमाक्षेत्रमा २० फिटभन्दा बढी अग्लो ३० किलोमिटर लामो बाँध बनाएपछि डुबान सुरु भएको हो । बाँधले भारतीय भूमिलाई डुबानबाट जोगाएको छ । उस बेला बाँध बनाउन लाग्दा गौरवासीले भारतीयको विरोध गरे । निर्माण कार्य सुरु हुँदै गर्दा गौरका स्थानीयले जुलुस निकाले । दिनहुँ बिरोध गरे । भारतीय पक्षले कुनै सुनुवाइ गरेन । गौरमा डुबान हुँदा नेपालीले बाँध फुटाउँछन् भनेर भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी आधुनिक हतियार बोकेर गस्ती गर्छन् । बाँध नजिक कसैलाई जान दिँदैनन् ।

अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतले दसगजा भित्र बाँध निर्माण गरेको हो । जिल्ला प्रशासनले वर्षा सुरु हुनु अगावै जिल्लाभरिका स्थानीय तहका प्रमुखलाई बोलाएर दैवी प्रकोपबाट बच्न तयारी अवस्थामा बस्न अनुरोध गर्दै आएको छ । वर्षाका बेला जिल्लाको ७०÷८० प्रतिशत भूभाग डुबानमा पर्ने गरेको छ । बागमती र लालबकैया नदीमा आउने बाढीको समस्या नयाँ होइन ।

जिल्लावासीले २५ वर्षदेखि यही नियति भोग्दै आएका छन् । गत वर्ष वर्षाका बेला जिल्लाका अधिकांश बस्ती बानमा पर्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनका अनुसार बाढी र डुबानमा परि ९ जना घाइते भए । १० हजार हेक्टरधान बालीमा क्षति पुगेको थियो । ३ सय हेक्टर उखुबाली, १२५० हेक्टर तरकारी बाली र १५० हेक्टर फलफुलबारीमा क्षति पुगेको थियो ।

१८१० घर परिवार विस्थापित भए । बाढीले ३४ वटा चौपाया हराए । ५४२ वटा घर पूर्ण रुपले क्षति भए । २४४५ घरमा आंशिक क्षति पुग्यो । झन्डै ९ करोडको क्षति भएको प्रशासनको तथ्यांकमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले वर्षेनि बाढी र डुबानको पीडा भोग्दै आएका रौतहटवासीलाई धनजनको क्षति हुन नदिन सबै पालिका प्रमुखलाई तयारी अवस्थामा बस्न अनुरोध गरेको बताए ।

सर्लाहीमा गत वर्ष असोज १४ गते राति अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण दुई हजारभन्दा बढी परिवार प्रभावित भए । लगातारको वर्षापछि बागमती, झिम, लखन्देही, सोती र मनुस्मारा लगायत खोलामा बाढी आयो । बाँध फुटाएर गाउँमा पानी पसेपछि जिल्लाको दक्षिण–पश्चिममा रहेका ८ वटा पालिका प्रभावित भए ।

बाढी र डुबानमा परेर २ सय ९० घर पूर्ण रुपमा क्षति भए । झन्डै ६ सय घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो । बाढी र डुबानमा परेर घरवास गुमाएका परिवार नजिकैका आफन्तकोमा शरण लिएर बसे । स्थानीय प्रशासनले केही पीडितहरुलाई नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेको थियो । गाउँमा बाढी पसे पनि खानेपानीको समस्या झेल्नुपरेको स्बलराका सरोज सिंहले सुनाए । त्यसबेला सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका– ४ स्थित हरपूर्वा गाउँका पाँच घरमा आंशिक क्षति पुगेको थियो ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले बाढी र डुबानको समस्याले बर्सेनि पीडामा पार्दै आएको गुनासो पोखिन् । बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले त्यस बेला स्वच्छ खानेपानीसमेत पाएका थिएनन् ।

Comment


Related News

Latest News

Trending News