२०८२ असार १३, शुक्रबार ०७:०१

आर्थिक वर्ष २०८२/८३ का लागि महोत्तरी जिल्लाका १५ मध्ये १४ स्थानीय तहले आ–आफ्नो नीति, कार्यक्रम र अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेको छ । असार १० भित्र गाउँ तथा नगरसभाबाट बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था अनुसार जिल्लाका नौ नगरपालिका र पाँच गाउँपालिकाले सभा सम्पन्न गरी बजेट प्रस्तुत गरिएको छ ।

यसपटक जिल्लाबाट प्रस्तुत कुल बजेटको आकार ९ अर्ब ४२ करोड १७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । तर, जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिकाले भने अझैसम्म नगरसभा डाक्न सकेको छैन, जसका कारण उक्त पालिकाको बजेट सार्वजनिक हुन सकेको छैन । बजेट आकारको हिसाबले सबैभन्दा अगाडि रहेको बर्दिबास नगरपालिकाले एक अर्ब २२ करोडभन्दा बढीको बजेट ल्याएको छ भने गौशाला नगरपालिकाको बजेट पनि एक अर्ब नाघेको छ।

अन्य पालिकाहरूको बजेट ३० करोडदेखि ७० करोडको आसपास देखिएको छ। सबै पालिकाहरूले आ–आफ्ना क्षेत्रीय प्राथमिकता अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक सुरक्षालगायतका क्षेत्रमा खर्च विनियोजन गरेको जनाइएको छ । यद्यपि, स्थानीय तहहरूले प्रत्येक वर्ष बजेटको आकार विस्तार गरिरहेका छन्, आन्तरिक स्रोतको परिचालनमा भने खासै प्रगति देखिएको छैन ।

धेरैजसो पालिकाहरू अझै पनि संघीय र प्रादेशिक सरकारबाट प्राप्त अनुदान, सशर्त बजेट र विशेष कार्यक्रममार्फत आउने रकममा निर्भर छन् । स्थानीय कर प्रणालीको सुधार, उद्यमशीलता प्रवद्र्धन तथा आफ्नै आम्दानीका स्रोतहरू विस्तार गर्ने तर्फ गम्भीर पहल नहुनु चिन्ताको विषय बनेको छ । स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्बन्ध हुने शासन तह हो । त्यसैले जनअपेक्षा र आवश्यकता अनुसारका योजना छनोट, पारदर्शिता, समावेशिता र परिणाममुखी कार्यान्वयनको अपेक्षा बढी गरिन्छ । तर, धेरै स्थानीय तहमा बजेट त आउने तर त्यसको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ ।

Comment


Related News

Latest News

Trending News