बारा स्थित प्रहरीले छुटाछुटै स्थानबाट १ करोड रुपैयाँ बढीको विभिन्न सामानसहित तीन वटा कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका ७ स्थित चेकप्वाइन्टमा दुईवटा ट्रकमा रहेको सामानहरू जाँच गर्दा बिल–बिजकभन्दा बढी सामान फेला पारेको छ ।
ना ३ ख ७३११ नम्बरको कन्टेनर, वीरगञ्बाट काठमाण्डुतर्फ जाँदै गर्दा असई राजन सिवाकोटीको कमाण्डमा खटिएको टोलीले आज बिहान २ः४० बजे सो ट्रक नियन्त्रणमा लिएको छ । उक्त ट्रकमा करिब ५० लाख ६३ हजार ४ सय ३६ रुपैयाँ बराबरका रेडिमेड कपडा, टायर र अन्य खुद्रा सामानहरू फेला परेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङ्गले बताएका छन् ।
त्यसैगरि गएराति वीरगञ्जबाट झापातर्फ गईरहेको ना ५ ख ३५५९ नम्बरको कन्टेनर बरिष्ठ सई जंग कार्कीको कमाण्डमा खटिएको टोलीले रोकेर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा उक्त ट्रकमा करिब ४० लाख १ हजार ४ सय ६९ रुपैयाँ बराबरका मेडिकल सामग्री, कपडा, ट्याब्लेट र अन्य खुद्रा सामानहरू लोड रहेको एसपी तामांगले जानकारी दिएका छन् ।
बिलबिजक भन्दा बढी सामान रहेको दुबै ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डित द्वारा शुक्रवार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमाण्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा बिहीबार साँझ मधेश प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकी जाँच गरेको थियो ।
वीरगञ्जबाट सिमरा तर्फ गइरहेको सो ट्रकमा बिल–बिजकभन्दा बढी मात्रामा माल फेला परेको प्रहरीले जनाएको छ । बारा प्रहरीका अनुसार ट्रकमा फाईल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न किसिमका खुद्रा सामान लोड गरिएको थियो। प्रारम्भिक मुल्याङ्कन अनुसार जफत गरिएको सामानको अनुमानित बजार मूल्य ४३ लाख ३४ हजार ८ सय १० रूपैयाँ रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताएका छन् ।
सामान तथा ट्रक दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


