२०८२ असार १६, सोमबार २०:५५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा नसोचेको माहोल बनिरहेको र यसै वर्ष अर्को ठूलो आन्दोलन हुने दावी गरेका छन् । उनले दशैं–तिहारपछि राप्रपा अर्को चरणको आन्दोलनमा जाने जनाउ दिए ।

आज पार्टीका विभागीय प्रमुखहरुसँगको छलफलमा लिङदेनले आन्दोलन र संगठनलाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका थिए । राजा ल्याउन पनि संगठन चाहिने र राजा ल्याएपछि व्यवस्था टिकाउन पनि संगठन चाहिने उनको भनाइ थियो । लिङदेनले विभागीय प्रमुखहरुलाई संगठन विस्तारमा केन्द्रित हुन निर्देशन दिए ।

लिङदेनले भने, ‘हामीले आन्दोलन र संगठनलाई समानान्तररुपमा लैजानुपर्छ । आन्दोलन प्रभावकारी बनाउनलाई बलियो संगठन नै चाहिन्छ । राजा ल्याइसकेपछि भ्रष्टाचारमुक्त समाज निर्माणका लागि पनि संगठन चाहिन्छ । त्यसैले संगठन निर्माण अपरिहार्य छ ।’

‘राजाले थपक्क प्रधानमन्त्री नियुक्त गर्ने, मन्त्रीहरु बनाउने खालको राजतन्त्र हामीले खोजेको होइन । राजा आएपछि पनि दलहरुले नै देश चलाउने हो । त्यसका लागि चुनाव लड्नै पर्छ । जित्नै पर्छ । त्यसैले संगठन मजबुत बनाउनतिर लागौं ।’

हालै भएको संयुक्त जनआन्दोलन राप्रपाको सोच र कार्ययोजनाअनुसार नभएको उनको भनाइ थियो ।

‘हामी आन्दोलनमा सहभागी थियौं, तर आन्दोलनको अगुवाइ हाम्रो थिएन,’ लिङदेनले भने, ‘अबको आन्दोलन हाम्रो नेतृत्वमा हुन्छ । दशैं–तिहारपछि देशमा नसोचेको माहोल आउँदैछ ।’

उनले आगामी असार २३ गते पूर्वराजाको जन्मदिवसलाई पार्टीको तर्फबाट विशेष बनाउने सन्देश दिएका छन् । राजाको जन्मदिन पनि आन्दोलनकै हिस्सा हुने भन्दै उनले यसमा सहभागी हुन सबै नेता–कार्यकर्तालाई मौखिक सर्कुलरसमेत गरे । पार्टीका विभागीय प्रमुखहरुले छिटोभन्दा छिटो आन्दोलनको कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

Comment


Related News