वन तथा वातावरण मन्त्रालयअन्तर्गत कानुनी कारबाही प्रक्रिया गम्भीर प्रश्न उठाउने घटनाले फेरि मन्त्रालयमाथि प्रश्न चिन्ह खडा भएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले रौतहट डिभिजन वन कार्यालय डिएफओ हेमन्तले गरेका ‘ काण्डै–काण्ड’ सम्बन्धी छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाइसके पनि, मन्त्रालयले अझैसम्म त्यसलाई सार्वजनिक नगरेको आरोप लगाए ।
वन तथा वातावरण मन्त्रालयले वन अधिकृत मनोज ठाकुरको संयोजकत्वमा छानबिन समिति गठन गरी उक्त समितिले जेठ ३० गते नै प्रतिवेदन तयार गरी मन्त्रालयमा दर्ता गराएको थियो । प्रतिवेदन सचिव उद्धव घिमिरेलाई तत्कालै बुझाइएको भए तापनि, १५ दिन बितिसक्दा पनि सो प्रतिवेदन प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय संजय यादवलाई बुझाइएको छैन ।
यसबीचमा प्रतिवेदनलाई दबाबमा राखेर सार्वजनिक नगर्ने प्रयास सचिव उद्धव घिमिरेबाट भएको भन्दै अभियानका संयोजक यादवले आलोचना गरेका छन् । सरकारी छानबिन प्रतिवेदन दबाउने र मन्त्रीसमक्ष समयमै नपेस गर्ने कार्यले सुशासनमाथि गम्भीर प्रश्न खडा गरेको भन्दै यादवले आक्रोश व्यक्त गरेका छन् ।
स्थानीय नागरिक, सरोकारवालाहरू तथा वातावरणविद् हरूले सचिव घिमिरेमाथि छानबिन गर्न प्रदेश र संघ सरकारसँग जोडदार माग गरेका छन् । यस्ता गतिविधिले सरकारी संयन्त्रमा पारदर्शिता र जवाफदेहितामा प्रश्न उठाउने देखिएको छ ।


