२०८२ असार २०, शुक्रबार १७:४३

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषा धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

बजार नाला तथा फोहरमैला व्यवस्थापनको योजनामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष सिंहसहित ९ जनाविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

धनौजी गाउँपालिका तत्कालीन अध्यक्ष सिंह, उपाध्यक्ष रामबती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, साबनकुमार चौधरी, सब इन्जिनियर छोटे मण्डल, योजना शाखा प्रमुख नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सहलेखापाल बिनोदकुमार मण्डल र एकता सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक इन्द्रेशकुमार सिंहविरूद्ध मुद्दा दर्ता गरिएको हो।

२०७७/७८ र २०७८/७९ मा मा गाउँपालिका अध्यक्ष सिंह सहितको टोलीले बजार नाला तथा फोहरमैला व्यवस्थापन योजनामा कर्मचारी र कन्ट्रक्सन प्रालिले कामै नगरी रकम भुक्तानी गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार बोलपत्र आह्वानदेखि कामै नभएको योजनामा पनि भुक्तानी लिएको देखिएको छ। निर्माण कार्यमा भुक्तानी गरिएको ३१ लाख ३४ हजार ७७८ रकम बराबरको सम्पत्ति दुरूपयोग गरेको देखिएको छ।

त्यसैले उनीहरूविरूद्ध  ३१ लाख ३४ हजार ७७८ रूपैयाँ बिगो माग दावी गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News