२०८२ असार २७, शुक्रबार ०७:२७

सीके राउत नेतृत्वको जनमत पार्टी सत्तामा गएसंगै आरोपप्रत्यारोप र विभिन्न विवादहरु सतहमा आउँदै पार्टीभित्र विवाद पुनः चुलिएको छ ।

पटकपटक विभिन्न आरोप लगाइ कारबाही गरेपछि असन्तुष्ट नेता तथा कार्यकर्ताहरुको एक समूहले छुट्टै अभियान नै सञ्चालन गर्दै भण्डफोर गर्ने भएको छ । सो अभियानको नाम ‘ जनस्वाभिमान’ यात्रा राखिएको छ । सो जनस्वाभिमानको अगुवाइ ई.दीपक साह, ई.सुरेन्द्रनारायण यादव र वीरेन्द्र साह (सोनार) ले गर्ने भएका छन् ।

मधेश प्रदेशको रौतहटबाट शुरु हुने अभियानको पहिलो चरणमा मधेश प्रदेशका आठ वटै जिल्लामा सञ्चालन हुने नेता ई. साहले जानकारी दिए । सो कार्यक्रम अन्तर्गत एक जिल्लामा एक दिन जनमत पार्टीका नेता तथा कार्यकर्तालगायतले जनतासँग भेट्ने कार्यक्रम रहेको उनले बताए । पार्टी अध्यक्ष राउतले पार्टीमा गरिरहेको एकलौटी निर्णय तथा अराजक गतिविधिबारे नेता तथा कार्यकर्ता एवं जनतालाई जानकारी गराइ भावी रणनीतिबारे सल्लाह गरिने स्पष्ट पारे ।

पार्टी स्थापनाका लागि लामो समयदेखि भूमिका खेलेका पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गरी पार्टीबाट निष्कासन गर्ने, कारबाही गर्नेजस्ता काम हुँदै आएको नेता ई. साहले बताए । जसले गर्दा पार्टी जनताको नभइ परिवारको बनाउन खोजिएको उनले आरोप लगाए । उनले भने, ‘जनमत पार्टीले मलाई विभिन्न आरोप लगाएर मलाई कारबाही गरेको छ, स्पष्टीकरण सोधेको छ, बुझाइसकेको छु, तर जुन आरोप ममाथि लगाएको छ, त्यसको प्रमाण मागेको नौ महिना भइसक्यो, तर हालसम्म त्यो प्रमाण पनि पार्टीले दिएको छैन ।’

पार्टीभित्र आफूहरूको कुनै सुनुवाइ नभएपछि जनताबीच जानुपर्ने बाध्यात्मक अवस्था सृजना भएको बताए । अध्यक्ष राउतले कारबाहीमा परेका नेताहरूले कार्यकर्तासँग भेटघाट नगर्न पनि सर्कुलर गरेको बताए । पार्टीभित्रै वैकल्पिक आवाज बन्न सक्ने मञ्च वा समूह बनाउनका नेताहरूले पार्टीका नेता–कार्यकर्ताहरूसमक्ष प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।

‘वैकल्पिक राजनीतिक मञ्चको सम्भावना निर्माण समान सोच भएका पार्टीभित्रका र बाहिरका इमान्दार नेता–कार्यकर्तालाई समेट्दै एउटा जनस्वाभिमानी मञ्च वा जनमत मूल विचार समूह बनाउने, जुन पार्टीभित्र वैकल्पिक आवाज बन्न सकोस्,’ अभियानका लागि बनाइएको बूकलेटमा उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News