अपडेट 
२०७७ बैशाख १३, शनिबार १७:३३

हेटाैंडा।कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि हेटौंडास्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक रु ३० करोड घाटा भइरहेको छ।

हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १ सय ११ उद्योग छन्। औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीरसहित मजदुर कार्यरत रहेका छन्। लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अहिले उद्योगको अवस्था दयनीय छ भने मजदुरको समेत रोजगारी गुमेको छ। लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करिब रु तीन करोडभन्दा बढीको कारोवार हुने गरेको थियो।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका अनुसार अतिआवश्यक वस्तुहरु उत्पादन गर्ने २०÷२१ उद्योग मात्र सञ्चालनमा रहेको छ। सामाजिक दूरी तथा स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको ती उद्योगसमेत आंशिकरूपमा चलेको बताइन्छ। उद्योगमा कच्चा पदार्थ, मजदुर अभाव, दुवानी र बिक्री वितरणको समस्याले आंशिकरूपमा चलेको छ।

कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगमा दुग्ध उद्योग, खानेपानी उद्योग, बेकरी तथा बिस्कुट उद्योग, मैदा उद्योग, पशुपन्छी दाना उद्योग, प्लास्टिक उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन्। सञ्चालित उद्योग पनि मझौला उद्योगहरु हुन्। उद्योग बन्दले घाटा खानुपरेकाले बैंकको ऋण तिर्न समस्या परेको तथा कर्मचारीको तलब दिनुपर्नेलगायतका थुप्रे समस्या आएको उद्योग सङ्घले जनाएको छ।

सङ्घका अध्यक्ष लेखराज पोखरेलले उद्योगीको व्यापक गुनासो रहेको उल्लेख गरे। उद्योग बाहिर बस्ने मजदुरलाई काम गर्न जाँदा बाटोमा प्रहरीले अप्ठ्यारो पार्ने गरेको मजदुरको गुनासो छ। त्यस्तै हेटौडा सिमेन्ट उद्योग, शिवम सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग र एशियन पेन्टस उद्योगलगायतका अन्य ठूला उद्योग बन्द छन्।

त्यसैगरी हेटौँडा उपमहानगर क्षेत्रमा रहेका कावार खानामा कावार संलग्न गर्ने मजदुर पनि बेरोजगार छन्। लोहा, टिना प्लास्टिक तथा सिसाको बोतल र टुटफुट भएका सामान सङ्कलन गर्ने व्यवसायी एवं मजदुरी गर्ने कारोबार ठप्प छ। हेटौँडमा विभिन्न टोलमा गरी चार दर्जनभन्दा बढी कावारखाना रहेको र ५ सयभन्दा बढी मजदुर आश्रित रहेको हेटौँडा–४ कबरखानाका सञ्चालक राम एकवाल गुप्ताले जानकारी दिए। 

Comment


Related News

Latest News

Trending News