२०८२ असार ३०, सोमबार ०७:०७

भारतको उत्तर प्रदेश राज्यमा धर्म परिवर्तन गराउने सुनियोजित षड् यन्त्रमा संलग्न एक विवादास्पद कथित बाबाको पर्दाफास भएको छ ।

‘छांगुर बाबा’ को नामले परिचित जलालुद्दीन नामक व्यक्ति उत्तर प्रदेशसंगै नेपालको लागि पनि चुनौतीपूर्ण रहेको घटनाको तथ्यहरुले पुष्टि गरेको छ । विभिन्न मुलुकहरूबाट नेपाल हुँदै भारत ३०० करोड भारतीय रुपैयाँभन्दा बढी रकम ल्याइ उनले हिन्दू महिला तथा कमजोर वर्गका मानिसहरूलाई आर्थिक प्रलोभन, डर, धम्की र सामाजिक भ्रम फैलाएर धर्म परिवर्तन गराएको भारतीय अनुसन्धान निकायहरूको दाबी छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा भारतीय आतंकवाद विरोधी दस्ता र प्रवर्तन निदेशालयको संयुक्त अनुसन्धानबाट नक्कली बाबाको आध्यात्मिक चरित्रको आडमा आर्थिक र वैचारिक षड्यन्त्र सार्वजनिक भएको छ । आठ जना महिलाहरूलाई प्रलोभनमा पारी मुस्लिम बनाउने कथित झांगुर बाबा र उनका संस्थाहरूको ३०० करोड रुपैयाँभन्दा बढीको कारोबारको खुलासा भएपछि अब इडी (प्रवर्तन निर्देशालय) ले पनि अनुसन्धान गर्ने भएको छ ।

एटीएस (एण्टी टेररिज्म स्क्वाड) ले यस सम्बन्धमा आफ्नो प्रतिवेदन इडीलाई पठाउन तयार पारेको छ । इडीले सो मामिलाको अनुसन्धान मनी लन्ड्रिङ ऐन अन्तर्गत गर्न सक्छ । एटीएसले खुलासा गरेको अनुसार झांगुर बाबाले नक्कली कागजातमार्फत ४० भन्दा बढी संस्था दर्ता गरेका थिए । विदेशबाट आउने रकम ती संस्थाहरूको नाममा खोलिएको खातामा पठाइन्थ्यो । ती खाताबाटै थाहा भयो कि झांगुर बाबाको खातामा ३०० करोड रुपैयाँभन्दा बढीको लेनदेन भइसकेको छ । यसका अतिरिक्त केही समयमै झांगुर बाबाले करोडौँ रुपैयाँ खर्च गरेर कोठी, विलासी गाडीहरू खरिद गरेका थिए ।

एटीएसका एक अधिकारीका अनुसार सो गिरोहका अन्य सदस्यहरूको पनि खाताको विवरण संकलन गरिँदैछ । यस सम्बन्धमा पनि एटीएसले अर्को प्रतिवेदन तयार गरेर इडीलाई दिनेछ । एटीएसले अहिलेसम्म प्राप्त प्रमाणहरूको विवरण पनि ईडीलाई पठाउने तयारी गरिरहेको छ । उत्तर प्रदेश बलरामपुरमा धर्म परिवर्तनको मुद्दामा चर्चित भएका मुख्य अभियुक्त झांगुर बाबाको आफ्नै छुट्टै गिरोह रहेको खुलेको छ । यस गिरोहमा १४ जना सदस्यहरू महत्वपूर्ण भूमिकामा थिए ।

केही समयपछि उनीहरूको नेटवर्क बलरामपुरबाट निस्केर उत्तर प्रदेशका धेरै जिल्लामा फैलिएको थियो । एटीएस र एसटीएफ ती १४ जना फरार सदस्यहरूलाई पक्राउ गर्न लागिपरेका छन्। एसटीएफले छुट्टै तीन टोली परिचालन गरेको छ । एडीजी कानून व्यवस्था अमिताभ यशका अनुसार झांगुरबाट प्राप्त जानकारीका आधारमा थप कारबाही अगाडि बढाइएको छ । एटीएस स्रोतका अनुसार झांगुर गिरोहका अधिकांश सदस्यहरू औरैया, सिद्धार्थनगर र आजमगढ़ जिल्लाका छन् ।

यी सबै मधपुर गाउँमा बस्थे। यही कारण एटीएसका टोलीहरू अहिले गाउँमै डेरा जमाएर झांगुर बाबाका बारेमा गाउँलेहरूबाट जानकारी संकलन गरिरहेका छन्। अब गाउँलेहरूले खुलेर झांगुरका कुकर्महरूको बयान गरिरहेका छन् । गाउँलेहरू यस कुरामा अचम्ममा परे कि जसलाई उनीहरूले मुस्लिम परिवार ठानिरहेका थिए — नसरीन, उसका श्रीमान् र छोरी — ती सबै पहिले सिन्धी थिए । झांगुरले उनीहरूलाई ब्रेनवाश गरेर इस्लाम धर्ममा रूपान्तरण गराएको थियो।

नीतू नै पछि नसरीन बनेकी थिइन् । उनका श्रीमानको वास्तविक नाम नवीन मोहरा हो। झांगुरले छपाएको किताब “सदर–ए–तैयबा” बाट आसपासका जिल्लामा इस्लामको प्रचार गरिन्थ्यो। यो किताब छपाउनका लागि पनि विदेशबाट फन्डिङ भएको थियो । एटीएसका अनुसार झांगुर गिरोहका मुख्य सदस्यहरू महबूब, पिंकी हरिजन, हाजिरा शंकर, एमेन रिजवी (आरोपित पत्रकार), र सगीरको तीव्र रूपमा खोजी भइरहेको छ । उनीहरूको गिरफ्तारी भएपछि गिरोहको थप नेटवर्कबारे जानकारी प्राप्त हुनेछ ।

गिरोहका केही सदस्यहरू विरुद्ध आजमगढ़को देवगांव थानामा सन् २०२३ मा एफआईआर पनि दर्ता गरिएको थियो। यसको विवरण एटीएसले आजमगढ़ प्रहरीले मागिसकेको छ। एटीएस चाँडै झांगुर र नीतू उर्फ नसरीनलाई रिमाण्डमा लिने तयारीमा छ । पाकिस्तान, दुबइ, साउदी अरब, टर्कीजस्ता इस्लामिक राष्ट्रबाट ठूलो परिमाणमा रकम हवालामार्फत नेपाल भित्रिएको र त्यसपछि नेपाली बैंकिङ प्रणाली तथा सीमावर्ती एजेन्टमार्फत भारत पु¥याइएको प्रमाण सार्वजनिक भएको छ। यसरी आएको रकमलाई हिन्दूहरूको धर्म परिवर्तन गराउन प्रयोग गरिएको छ ।

अनुसन्धान अनुसार काठमाण्डु, नवलपर ासी, रुपन्देही, बाँके लगायत जिल्लाहरूका १०० भन्दा बढी बैंक खाता धर्मान्तरण अभियानमा प्रयोग भएका छन् । यसको अर्थ नेपाल केवल ट्रान्जिट पोइन्ट मात्र नभइ सम्भावित सहकार्यकर्ता राष्ट्र बन्न पुगेको छ । सो विषय नेपाल सरकारका लागि गम्भीर चिन्ताको विषय बन्न पुगेको छ । छांगुर बाबा र उनका सहयोगीहरूले विशेषगरी आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा पिछडिएका वर्गहरूलाई टार्गेट गर्दै आएका थिए ।

महिलाहरूलाई विशेष रूपमा निशाना बनाइएको थियो, जसमा प्रलोभन, विवाहका झुटा प्रस्ताव तथा धम्कीको समेत प्रयोग गरिएको थियो । यसबाट धर्मान्तरण केवल धार्मिक नभई ठूलो आर्थिक कारोबारमा परिणत भएको स्पष्ट हुन्छ । जलालुद्दीन उर्फ छांगुर बाबाको युपीस्थित ५ करोड भारुको हवेली – जसमा निजी पावर स्टेशन, विदेशी मार्बल र अत्याधुनिक सुरक्षा प्रणाली थिए – मुख्यमन्त्रीको आदेशमा भत्काइएको छ।

यो कदम धार्मिक उन्माद फैलाउने विरुद्धको प्रतीकात्मक तथा कडारुपमा लिइएको कार्य हो। धार्मिक रूपान्तरण कुनै स्वतन्त्र वैचारिक प्रक्रियाको भाग होइन, अहिले यो राजनीतिक, वैदेशिक, आर्थिक र वैचारिक रूपमा नियोजित षड्यन्त्र बन्न पुगेको छ। छांगुर बाबा प्रकरणले यो खतरा भारतमा मात्रै होइन, नेपालजस्ता सीमावर्ती मुलुकहरूमा पनि प्रवेश गरिसकेको पुष्टि गर्छ । सो प्रकरणले भारत–नेपाल सीमालाई आपराधिक गतिविधिको सहज मार्ग बनाइदिएको देखिन्छ ।

विशेष गरी बैंकिङ प्रणाली, हवाला कारोबार, र सीमामा हुने अवैध कारोबारको दुरुपयोग यसमा स्पष्ट देखिन्छ । नेपालको भूमिबाट अवैध पैसा ट्रान्जिट हुनु, नेपाली खाता प्रयोग हुनु, र नेपाली नागरिक पनि संलग्न हुन सक्ने आशंका हुनु नेपालका लागि केवल छविको समस्या होइन, राष्ट्रिय सुरक्षाको सवाल छ ।

यदि समयमै निगरानी र नियन्त्रण गरिएन भने यस्ता गतिविधिले नेपालमा पनि धार्मिक ध्रुवीकरण र साम्प्रदायिक द्वन्द्वको बीउ रोप्न सक्छ । छांगुर बाबा काण्ड केवल भारतको आन्तरिक मुद्दा होइन । यसको चपेटामा नेपाल पनि परेको देखिन्छ। त्यसैले अब नेपाल सरकारले निम्न कदमहरू अविलम्ब लिनुपर्छ । धार्मिक उन्माद वा वैदेशिक प्रभावमा आधारित रूपान्तरण गतिविधिमा कडाइ गर्ने कानुनी व्यवस्था निर्माण गर्नेछ । यदि यस्ता गतिविधिहरूको समयमै नियन्त्रण गरिएन भने, नेपालमा पनि धार्मिक विखण्डन, अस्थिरता र सामाजिक द्वन्द्व निम्तिन सक्छ, जुन देशको स्थायित्वका लागि गम्भीर चुनौती बन्न सक्छ ।

Comment


Related News

Latest News

Trending News