२०८२ असार ३०, सोमबार ०७:३४

आफ्नै विद्यालयको एक छात्रालाई जिस्काएको आरोपमा रौतहटमा एक शिक्षकलाई अभिभावकले कुटपिट गरेका छन् ।

आफ्नै छात्रालाई प्रेम प्रस्तावसहित मैजेस लेख्दै पठाएपछि जिल्लाको गरुडा नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय श्रीपुर नयाँ गम्हरियाका अभिभावक र विद्यार्थीहरू शिक्षकलाई रामधुलाई गरेका छन् ।

माध्यमिक विद्यालय श्रीपुर नयाँ गम्हरियामा कक्षा १० मा अध्ययनरत १७ वर्षीया एक किशोरीको फेसबुक म्यासेन्जरमा सोही विद्यालयमा अध्यापन गराउने शिक्षक रवीन्द्र प्रसाद साहले अपमानजनक सन्देश पठाएका थिए । आफ्नै विद्यालयको छात्रालाई शिक्षक साहले जन्मदिनको अवसरमा ‘हैपी बर्थ डे आई लव यु’ मेरी जान भनेर सन्देश पठाएको आरोप लगाइएको छ ।

छात्रालाई आपतिजनक सन्देश पठाएको थाहा पाएका छात्राका अभिभावक र विद्यार्थीहरू आज निकै आक्रोशित हुँदै विद्यालयमै पुगेर शिक्षक साहलाई नराम्ररी कुटपिट गरेका छन् ।

अभिभावक र विद्यार्थीहरू विद्यालय मै पुगेर शिक्षक साहलाई कुटपिट गर्दै तोडफोडमा उत्रिनुका साथै हाँगामा मच्चाएपछि आइतबार बिहान केहीबेर सो विद्यालयमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएका थिए ।

सो क्रममा भीड तितरबितर पार्न सुरक्षाकर्मीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेका थिए । आक्रोशित विद्यार्थी र अभिभावकको समूहले शिक्षक साहलाई लछारपछार गर्दै कुटपिट गर्नुका साथै विद्यालय परिसरमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । सो क्रममा उनीहरुले विद्यालयमा पार्क गरिएको केही थान मोटरसाइकलमा समेत तोडफोड गरी सामन्य क्षति पुर्याएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताएका छन् ।

शिक्षक साहले एक छात्रालाई मोबाइलमा आई लव यू जान भनेर सन्देश पठाएका कारण आक्रोशित छात्राका अभिभावक र विद्यार्थीहरू विद्यालयको कक्षा कोठामै पुगेर नराम्ररी कुटपिट गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताए । छात्रालाई आपतिजनक सन्देश पठाउने आरोपित शिक्षक रवीन्द्र प्रसाद साह इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी कार्कीले जनाए ।

अनुसन्धानपछि पीडित परिवारले जाहेरी दिए शिक्षक साहमाथि मुद्दा दर्ता गर्ने गरुडा प्रहरीको तयारी छ । घटनालाई केही व्यक्तिले छलफलको माध्यमले सल्टाउने चलखेलमा लागेका छन् तर प्रहरीले पीडितले जाहेरी दिएपछि साहमाथि मुद्दा दर्ता गर्ने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News