मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न संघीय सरकार र दातृनिकायसँग आग्रह गरेका छन्।
मंगलवार बिहान सरोकारवाला मन्त्रालय र दातृनिकायसँग बैठकमा मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै प्रदेश सरकार तथा दातृनिकायबाट गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न आग्रह गरे।
प्रदेशका नागरिकलाई तत्काल राहत महसुस हुने गरी काम गर्न आग्रह गर्दै उनले भने‚ ‘बैठक र निर्णय मात्र होइन के गर्न सकिन्छ‚ तुरुन्तै सुरु गरौँ।’
प्रदेशका सबै १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै उनले प्रदेशका नागरिक समस्यामा रहेका वेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृनिकायका प्रतिनिधिलाई आग्रह गरे।
‘प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट संकटमा रहेका वेला खुला हृदयले सहयोग गर्न दातृनिकायलाई आग्रह गर्छु’‚ मुख्यमन्त्री सिंहले भने।
अहिले सुक्खाका कारण धान रोपाइँ हुन नसके यसले आगामी दिनमा खाद्यान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अघि बढाउन मुख्यमन्त्री सिंहले सरोकारवाला मन्त्रालयलाई निर्देश गरे।
उनले सुक्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसँग आवश्यक छलफल भइरहेको बताए।
बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्री,गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको समेत उपस्थिति रहेको थियो। यस्तै वर्तमान अवस्थाबारे मन्त्रालयगत रूपमा तथ्यांक प्रस्तुत गरिएको थियो।
बैठकमा दातृनिकायका प्रतिनिधिहरूले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।



