अपडेट 
२०७७ बैशाख १४, आईतवार ०९:०१

जनकपुरधाम । प्रदेश २ मा चार जना कोरोना संक्रमित निको भएका छन्। पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ भारतीय जमाती र रौतहटका एक युवक कोरोना भाइरसलाई हराउन सफल भएका हुन्।

उपचारका क्रममा गरिएको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि चारै जनालाई आज डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ। अस्पताल प्रमुख डाक्टर मदन उपाध्यायले भने, ‘उनीहरुको चार वटा परीक्षण भयो। जसमध्ये पहिलो र दोस्रो पोजेटिभ आयो। तर तेस्रो र चौथो रिपोर्ट पोजेटिभ आएको डिस्चार्ज गर्न लागेका छौं।’

निको भएका तीन भारतीय जमाती वीरगन्ज महानगरपालिका २ छपकैयास्थित मस्जिदमा बसेका थिए। प्रशासनले थाहा पाएपछि २१ जनालाई नियन्त्रणमा लिए। जसमध्ये तीन जनामा कोरोना संक्रमणको पुष्टि गत चैत ३० मा भएको थियो।

निको भइसकेका ती तीनजना ३७, ४४ र ५५ वर्षीय पुरूष छन्। उनीहरुलाई आइसोलेसनबाट डिस्चार्ज गरेपनि क्वारेन्टाइनमा राखिने डाक्टर उपाध्यायले जानकारी दिए। उनले भने- उनीहरु भारतीय हुन्। अहिले लकडानका कारण घर जान पाउँदैनन्। त्यसैले तत्काल क्वारेन्टाइनमै राखिनेछ।’

यस्तै रौतहटका १९ वर्षीय युवकमा वैशाख १ मा कोरोना संक्रमणको पुष्टि स्वास्थ तथा जनसंख्या मन्त्रालयले गरेको थियो। उपचारपछि कोरोनालाई हराएका उनलाई अस्पतालले आजै डिस्चार्ज गरी घर पठाउने बताइएको छ।

अब नारायणी अस्पतालमा कोरोना संक्रमित सर्लाहीका १४ वर्षीय किशोरको उपचार मात्र जारी रहन्छ। प्रदेश २ का ५ जना कोरोना संक्रमितमध्ये चार जनाको सफल उपचार गरेकोमा चिकित्सकहरु खुसी भएका छन्।

Comment


Related News

Latest News

Trending News