२०८२ श्रावण ६, मंगलवार ०९:०२

महोत्तरीको गौशाला नगरपालिका–५ मा रहेको गोरु तथा खसी बजारको ठेक्का र राजस्व संकलनको विषयलाई लिएर दुई पक्षबीच भएको झडपमा वडाध्यक्षसहित चार जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार सोमबार बिहान ठेक्का रकम संकलनका क्रममा नगरपालिका पक्ष र निगौल गाई गौशालाको पक्षधरबीच विवाद चर्किएपछि हात हालाहाल भएको थियो। झडपका क्रममा गौशाला नगरपालिका वडा नं. २ का अध्यक्ष श्यामकुमार मण्डल, स्थानीयवासी विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएका हुन् ।

उनीहरूमध्ये अध्यक्ष मण्डल र विजय यादवको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको जनाइएको छ । स्थानीयका अनुसार विवादको मूल कारण गोरु तथा खसी बजारको ठेक्का र त्यसबाट उठाइने राजस्व हो।

गौशाला नगरपालिका र निगौल गाई गौशालाले आ– आफ्नो तर्फबाट बजार ठेक्कामा लगाउने प्रयास गर्दा द्वन्द्व उत्पन्न भएको हो । निगौल गाई गौशालाले आफ्ना कर्मचारी खटाएर राजस्व संकलनको प्रक्रिया अगाडि बढाइरहँदा नगरपालिकाले त्यसमा अवरोध पु¥याएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यसअघि, वि.सं. २०७० मा निगौल गाई गौशालाको व्यवस्थापन कार्यालय र तत्कालीन गौशाला गाविसबीच भएको सम्झौताअनुसार गोरु तथा खसी बजारको ठेक्काबाट उठेको कुल रकमको २५ प्रतिशत गौशालालाई उपलब्ध गराउने सहमति भएको थियो । तर, सो सम्झौता आर्थिक वर्ष २००७४ मै टुटे पनि गौशाला नगरपालिकाले सोही जग्गामा वर्षेनी बिना सम्झौता पशु बजार सञ्चालन गर्दै आएको निगौल गाई गौशालाको आरोप छ ।

गौशालाको नाममा रहेको २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा नगरपालिका कार्यालयले बजार सञ्चालन गर्दै आएको र सम्झौताअनुसारको रकम नदिई उल्टै जबर्जस्ती ठेक्का लगाउँदै आएको गुनासो निगौल गाई गौशालाले गरेको हो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका प्रशासकीय अधिकृत कान्ती कुमारी पाण्डेका अनुसार गौशालासँग बाँकी रहेको ५ करोड रुपैयाँभन्दा बढी रकमको तिर्न बारम्बार ताकेता गर्दा पनि नगरपालिकाले कुनै प्रतिक्रिया नदिएको आरोप छ ।

सो घटनापछि सुरक्षास्थितीलाई नियन्त्रणमा लिनका लागि प्रहरी बल परिचालन गरिएको थियो । अहिले बजार क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको थियो भन अहिले अवस्था सामान्य भएको छ ।

यता गौशाला नगरपालिकाका नगरप्रमुख दीपेन्द्र महतोले बजार स्थानीय सरकारको रहेको भन्दै नगरपालिकाको चालेको कदम वैधानिक रहेको बताए । उनले केही विपक्षी दलले गाई गौशालालाई उक्साएर झडपको अवस्था सिर्जना गरेको आरोप समेत लगाए ।

Comment


Related News

Latest News

Trending News