२०८२ श्रावण ८, बिहीबार ०७:२०

मधेश प्रदेशमा खानेपानी समस्या समाधान गर्नका लागि एक समिति गठन गरिएको छ । खानेपानी मन्त्रालयमातहत रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले तराई–मधेशमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न दुई समिति गठन गरी स्थलगत अनुगमन थालिएको छ ।

सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक नारायणप्रसाद आचार्य र विभागका उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठको संयोजकत्वमा दुईवटा छुट्टाछुट्टै समिति गठन गरिएको विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “समस्या समाधान गर्न समिति गठन गरी आजै परिचालन गरेका छौँ ।

समितिले १० दिनभित्र अनुगमन प्रतिवेदन तयार गरी विभागमा पेश गर्नेछ ।” आयोजना निर्देशक आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका सिनियर डिभिजन इञ्जिनियर मिहिरचन्द्र आचार्य, जनकपुर खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका इञ्जिनियर किरण विष्टलाई सदस्य तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको केन्द्रीय खानेपानी आयोजनाका ई. सुधिर कुमार साहलाई सदस्यसचिव तोकिएको जनाइएको छ ।

त्यस्तै उपमहानिर्देशक श्रेष्ठको संयोजकत्वमा गठित मधेश प्रदेशमा खानेपानी समस्या समाधान समितिमा वीरगञ्ज खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख विपुलकुमार लाल दास, इञ्जिनियर प्रदीपकुमार साह सदस्य तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इञ्जिनियर चन्द्रकुमार श्रेष्ठलाई सदस्यसचिव तोकिएको विभागले जनाएको छ ।

दुवै समितिलाई सम्बन्धित जिल्लामा स्थलगत अध्ययन, अनुगमन, विश्लेषण गरी खानेपानी समस्या समाधान गर्न आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्न भनिएको छ ।

Comment


Related News

Latest News

Trending News