
देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोजस्तै आज पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ ।
दिउँसो भने केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही ठाउँमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँहरुमा हावाहुरीसमेत चल्ने सम्भावना छ । गएराति पूर्वका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।