२०८२ श्रावण १३, मंगलवार ०७:५७

भारतीय प्रहरीले सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित धोबियाही र कोचाबखारीका सर्वसाधारण त्रसित बनेका छन् । अपराधी खोज्दै हतियार बोकेर राति–राति बस्तीमा आएर भारतीय प्रहरीले सर्वसाधारणलाई धरपकड गर्न थालेपछि उनीहरू त्रसित बनेका छन् ।

गत बिहीबार राति छिन्नमस्ता गाउँपालिका–३ स्थित धोबियाही र वडा नम्बर ६ कोचाबखारीमा पुगेर भारतीय प्रहरीले कुटपिट गर्दै धरपकड गरेको स्थानीयको आरोप छ । भारत बिहारको कोरियापट्टीमा भएको हत्या घटनाका फरार आरोपित खोज्दै दुई वटा स्कार्पियो र चार वटा मोटरसाइकलमा हतियारसहित नेपाली बस्तीमा आएका थिए ।



न्यौर बोर्डरबाट प्रवेश गरेका उनीहरूले सखडास्थित धोबियाही टोलमा पुगेर २२ वर्षीय रञ्जित सदा र २४ वर्षीय मनोज मण्डललाई बिहीबार साँझ नै नियन्त्रणमा लिइ फर्किए । अपराधी पहिचान गर्ने भन्दै मुख बाँधेर ल्याएका एक जनासहित राति फेरि बस्तीमा आएका प्रहरीले कोचाबखारी पुगेर निर्मलादेवी सदा (कोरियापट्टी माइती भएकी) लाई कुटपिट गर्दै स्कार्पियोमा बस्न लगाए ।

दुई सय मिटर उत्तरतर्फको सदा टोलका २१ वर्षफय शंकरकुमार सदा र बालकुमार सदाको घरमा पुगेर मान्छे लुकाएको भन्दै महिला र बालबालिकालाई समेत कुटपिट गरेपछि बस्तीमा त्रास फैलिएको स्थानीयको आरोप छ । प्रहरी चौकी सखडाका हवलदार सुरेश मेहतासहित दुई जनाले पनि कुटपिट गर्ने भारतीय प्रहरीलाई नै सघाइरहेको स्थानीय लालदेव सदाले गुनासो गरे ।

नियन्त्रणमा लिएका रञ्जित र मनोजलाई निर्दोष रहेको भन्दै शुक्रबार बिहान छाडे पनि दुवै जना निर्घात कुटिएका छन् । गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भारतीय पक्षबाट स्थानीयलाई त्रसित पार्ने कार्य गरिरहेको भन्दै प्रहरी/प्रशासनलाई गम्भीर बन्न आग्रह गरे । उनले भने, ‘अपराधी समात्ने नाममा स्थानीयलाई त्रसित पार्न पाइँदैन, भारतीयले कानुनको पालना गर्नुपर्छ, हाम्रा प्रहरी/प्रशासन यस मामिलामा गम्भीर बन्नुपर्छ ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपाल छिरेर भारतीय प्रहरीले कुटपिट गरेको विषय जानकारीमा नरहेको प्रतिक्रिया दिए ।

Comment


Related News

Latest News

Trending News