२०८२ श्रावण १३, मंगलवार ०८:०७

प्राचीन मिथिलाको राजधानी जनकपुरधाम अहिले झुला उत्सवले सिंगारिएको छ । चर्चित संस्कृति र पर्व मध्येमा पर्ने झुला उत्सवमा जनकपुरका मठ मन्दिरहरु संगीतमय बनेका छन् । यस झुलन उत्सवमा सहभागी हुन नेपाल तथा सीमावर्ती भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरु आउने गर्दछन् ।

मिथिला क्षेत्रमा रहेका मठमन्दिर र कुटीहरुमा आयोजना भइरहेको झुला उत्सवमा गाइने धार्मिक गीत संगीतले सबैलाई मंत्रमुग्ध बनाइरहेको हुन्छ । जनकपुरधाम र आसपासका प्रत्येक मठमन्दिरमा झुलाकालागि सिंहासन निर्माण गरि सजाइएको गद्दीमा रामसीताको मूर्ति राखि झुलाउने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दासले बताए ।



मिथिलाको सांस्कृतिक पर्वका रुपमा चिनिने झुला उत्सव साउन तृतिया देखि पूर्णिमासम्म मनाइन्छ । झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको पौराणीक मान्यता रहेको छ । सन्तहरु खुला चौर वा रुखको छहारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखि झुलाउने गरेको जनविश्वासको आधारमा मिथिलामा अहिलेसम्म पनि झुला उत्सवलाई निकै महत्वका साथ हेरिएको संस्कृतिविद् डा. राजेन्द्र विमलको भनाइ छ ।

सन् १७३० मा जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास वैष्णव भएपछि उनले नै झुला महोत्सवको आरम्भ गरेका थिए । त्यहि बेलादेखि नै जनकपुरधामस्थित मठमन्दिर देखि अधिकांश जिल्लामा रहेका मठमन्दिरहरुमा समेत झुला प्रारम्भ भएको मानिन्छ । त्यसै बखत जनकपुरधाममा विभिन्न मठ मन्दिरहरुको स्थापना भएको र विभिन्न उत्सवहरुको सुरुवाता समेत भएको मानिन्छ ।

महन्थ सुरकिशोर दास वैष्णव माता जानकीलाई छोरी मान्दथे । उनले कहिलेकाही जानकीसँग कुराकानी गर्ने गरेको समेत वर्तमान महन्थ रामतपेश्वर दास वैष्णवले बताए । माता जानकीको सल्लाहमा आदि महन्थ सुरुकिशोर दासले यस उत्सवको प्रारम्भ गरेको उनले बताए । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको बताइन्छ । मिथिलाञ्चलमा धानको रोपाई समाप्त हुने बित्तिकै झुला उत्सवको रौनकता शुरु हुने गर्दछ ।

यसक्रममा अधिकांश मठ मन्दिरमा कजरी र मलार जस्तो धार्मिक महत्व झल्किने लोक गीतहरु गाएर बेलुकीको समयमा भक्तजनहरु झुमिने गर्दछ । यस झुल्नोत्सवमा युवतीहरु झुलाको गीत गाउने र भगवानको पूजा अर्चना गरेपछि भक्तजनलाई फुलपाती पञ्चामृत र नैवेध बाँड्ने परम्परा छ । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा छ ।

जनकपुधामर एवम् मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुला उत्सव मनाउने परम्परा रहे पनि जानकी मन्दिर एवम् राम मन्दिरको झुला विशेष आकर्षणको केन्द्रबिन्दु रहेको हुन्छ । जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ । सीता रामलाई झुलामा झुलाउदैँ विभिन्न धार्मिक सांस्कृतिक लोककथाहरु गीतको माध्यमले भक्तजनहरु झुम्ने गर्दछ भने धार्मिक विधि अनुसार वितेको शुक्रबार देखि १५ दिनसम्म मनाइने गरिन्छ ।

मिथिलाको प्रत्येक मठ मन्दिरमा झुला उत्सव मनाइए पनि जानकी मंदिर, राम मन्दिर, लक्ष्मण मन्दिर, रत्न सागर र अग्नी कुण्डभने सबैको आकर्षण केन्द्र बनेको छ । साँझको समयमा मनाइने झुला उत्सवमा सहभागी हुन नेपालका विभिन्न स्थानकासाथै सीमावर्ती भारतीय जिल्लाबाट श्रद्धालुहरुको घुइँचो रहने गरेको छ ।

Comment


Related News

Latest News

Trending News