२०८२ श्रावण १३, मंगलवार ०८:१३

लागूऔषधको ‘ट्रान्जिट’ को रुपमा मधेश प्रदेश स्थापित हुन थालेपछि प्रहरीले सो विरुद्धको अभियानलाई अघि बढाएको छ ।

मधेश प्रदेशमा प्रहरीले अभियान नै थाली सेवनकर्ता र कारोबारीविरुद्ध कारबाही अघि बढाएको प्रदेश प्रहरीले जनाएको छ । मधेश प्रदेशका आठै जिल्ला भारतीय सीमासँग जोडिएकाले यही नाकाबाट लागूऔषधको कारोबार काठमाण्डुसम्म हुने गरेको नेपाल प्रहरीको अनुसन्धानले देखाएको जनाएको छ ।



सीमावर्ती भारतीय बजारमा सहजरुपमा पाउने लागूऔषध खुलेआम बिक्रीले दुव्र्यवसनीको दर मधेश प्रदेशमा उच्च रहेको प्रहरीको तथ्यांकले देखाएको छ । एक वर्षको अवधिमा करिब २३ करोड मूल्य बराबरको लागु औषध बरामद भएको छ। जसमा ठूलो मात्रामा गाँजा, चरेस, ब्राउन सुगर र अफिम बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा १५ हजार ४४२ किलोग्राम गाँजा बरामद गरिएको छ, जसको मूल्य १८ करोड ६० लाख रुपैयाँ बराबर छ । त्यस्तै, पाँच सय आठ किलोग्राम चरेस बरामद गरिएको छ, जसको मूल्य एक करोड ११ लाख रुपैयाँ बराबर रहेको छ। १५ लाख मूल्य बराबरको तीन किलो २०० ग्राम ब्राउन सुगर र २५ लाख मूल्य बराबरको ४६ किलोग्राम अफिमसमेत बरामद गरिएको छ। साथै, लागु औषध ट् याब्लेट, इञ्जेक्सन र बोतल गरी तीन लाख ७५ हजार ७३६ थान बरामद भएको छ, जसको मूल्य एक करोड ६७ लाख बराबर छ ।

मधेश प्रदेश प्रहरीका डीआईजी उमाप्रसाद चुर्तुवेदीले एक वर्षको अवधिमा लागु औषधसम्बन्धी ५८४ वटा मुद्दा दर्ता भएकोमा ५२२ वटा फछ्र्यौट भएको जानकारी दिए । तथ्यांकअनुसार मधेश प्रदेशमा आर्थिक अपराध, आत्महत्या, लागु औषध र सडक दुर्घटनामा वृद्धि भइरहेको छ । डीआईजी चुर्तुवेदीले लागूऔषध नियन्त्रण र आत्महत्या रोक्न सबै तहको सहकार्य जरुरी रहेको बताए ।

मधेश प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा मधेश प्रदेशमा १,२५३ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये २१५ जना पानीमा डुबेर, १३८ जना करेन्ट लागेर र १९ जना आगलागीमा परी मृत्यु भएका छन् । मधेश प्रदेशमा साना हतियार १६ थान र ठूलो हतियार १९ थान बरामद गरेको प्रदेश प्रहरीले जनाएको छ । डीआईजी चुर्तुवेदीले मधेश प्रदेशमा तस्करी र राजस्व छलीका घटनामा पनि कडाइ गरिएको बताए ।

Comment


Related News

Latest News

Trending News