२०८२ श्रावण १३, मंगलवार ०८:१७

पर्यटन विकास कार्यालय लहान सिरहाले कमिसन उठाउन राजविराजबाट कार्यालय सञ्चालन गर्दा विवादित बनेको बजेट खर्च मनलाग्दी गरेको पाइएको छ । सो कार्यालयले गत असारमा बोदे बरसाइन नगरपालिका–९ स्थित स्वर्णपट्टीमा निर्माण भइसकेको नेपाल प्रवेशद्वारको ‘डेकोरेसन’ गर्नै २४ लाख रुपैयाँ खर्च गरेको खुल्न आएको छ ।

सो प्रवेशद्वार निर्माण गर्न ०७९÷०८० मा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत ३२ लाख रुपैयाँ छुट्याइएको थियो । सो वर्ष २३ लाख रुपैयाँ खर्च हुँदा लगभग प्रवेशद्वार निर्माण भइसकेको थियो । ‘फिनिसिङ’ मात्रै बाँकी रहँदा पनि कार्यालयले गत असारमा मनलाग्दी बजेट खर्च देखाएको छ ।



सो कार्यालयले उपभोक्ता समितिमार्फत २४ लाख रुपैयाँ खर्च देखाउँदासमेत प्रवेशद्वारको माथिल्लो भागमा डिजाइनिङ, फिनिसिङ, रंगरोगन, लाइटिङ र रेलिङबाहेकका काम देखिँदैन । प्रवेशद्वारमा थप कार्य हुँदा धेरैमा १५/१६ लाख रुपैयाँ खर्च भएको हुनसक्ने एक स्थानीयले बताए । कार्यालयका प्रमुख वसन्तकुमार दासले ‘इस्टिमेट’अनुसार नै काम सकिएपछि भुक्तानी दिइएको एक स्थानीयले बताए ।

असार २३ गते सोमबार कार्यालयका कर्मचारीले राजविराज नगरपालिका–८ स्थित शुभलक्ष्मी इञ्जिनियरिङ कन्सल्टेन्सीबाट कमिसन उठाइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले छापा मार्दा सब–इन्जिनियर सुरेन्द्रकुमार यादवलाई नियन्त्रणमा लिइएको थियो ।

त्यहाँबाट आठ थान फाइल समेत बरामद भएपछि छानबिन गर्नका लागि सोही दिन जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको थियो । तर सिरहा प्रशासनले जफत गरिएका कागजातसहित सब–इञ्जिनियर यादवमाथि कुनै छानबिन नै नगरी उन्मुक्ति दिएको थियो ।

सोही कार्यालयका प्रमुख दासलाई नै छानबिन गर्ने जिम्मेवारी दिएर पठाएको जिल्ला प्रशासन कार्यालयले जनाए पनि अझैसम्म छानबिन अघि बढाइएको छैन । कार्यालय प्रमुख दासले ती विषयमा छानबिन भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News