
नेपाल विद्युत प्राधिकरणले आठ रुपैयाँ प्रतियुनिट पर्ने बिजुली तराइको सिचाइँका लागि तीन रुपैयाँमा दिने जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेश प्रदेशका विभिन्न जिल्लामा तत्कालै ५ सय बोरिङ खन्ने घोषणा गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न जनकपुरधाम आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरूसँग छलफलमा सिचाइँका लागि मूल्य घटाइने बताए ।

विद्युत कार्यालयका प्रमुखहरुसंगको छलफलका क्रममा सुख्खाग्रस्त मधेशमा बोरिङ गाड्ने घोषणापछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ भनेर आफैँ फिल्डमा खटिएको उनले बताए ।
मधेश प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाहीलगायतका जिल्लाका प्राधिकरणको जिल्ला नेतृत्वसँग बोरिङ खन्ने ठाँउमा विद्युत आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरिएको निर्देशक शाक्यले बताए ।
सिचाइँका लागि विद्युत आपूर्ति गर्न प्राधिकरण तयार रहेको भए पनि कहाँकहाँ जोडिने भन्नेकुरा सम्बन्धित निकायबाट आउन नसकेको उनले बताए ।