
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २० देखि २५ प्रतिशत भन्सार कर लगाउनसक्ने बताएका छन् । स्कटल्यान्डको पाँच दिने भ्रमणबाट फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यो कर अझै अन्तिम नभएको र भारतसँग १ अगस्टसम्म व्यापार सम्झौता हुने अपेक्षा गरेको बताए ।
“भारतले २० देखि २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ । भारत मेरो मित्र हो । उनीहरूले मेरो अनुरोधमा पाकिस्तानसँगको युद्ध समाप्त गरे,” ट्रम्पले भने ।

ट्रम्पले सबै व्यापारिक साझेदार देशहरूलाई १ अगस्टसम्म व्यापार सम्झौता गर्न समयसीमा दिएका छन् । यदि, यो मितिसम्म सम्झौता नभए, अमेरिकाले ती देशहरूमाथि उच्च पारस्परिक कर लगाउन सुरु गर्ने बताएको छ ।
गत अप्रिलमा ट्रम्पले सबै साझेदार देशहरूमाथि उच्च कर घोषणा गरेका थिए । तर, तत्कालका लागि १० प्रतिशत कम दरमा कर लागु गरिएको छ । यद्यपि, समयसीमा थपिए पनि केही देशहरूसँग मात्र सम्झौता भएको छ ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले सोमबार भारतसँग थप समय आवश्यक रहेको बताए । उनले अमेरिकी निर्यातका लागि भारतीय बजार थप खुला गर्न भारतको इच्छा मूल्यांकन गर्न वार्ता जारी राख्नुपर्ने बताए ।
भारत २० देखि २५ प्रतिशत करको सामना गर्न तयार भएको रोयटर्सले मंगलबार उल्लेख गरेको छ । एनडीटीभी