अपडेट 
२०७७ बैशाख १४, आईतवार २०:३९

जनकपुरधाम। राहत वितरणमा ढिलाइ गरेपछि सिरहाको सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवलाई स्थानीय युवाहरुले राहत बुझाएका छन्।

सुखीपुरका विभिन्न ठाउँमा स्थानीय युवाहरुले राहत संकलन गरी आइतबार मेयर यादवलाई बुझाएका हुन्। पटकपटक राहत वितरण गर्न दबाब दिए पनि मेयर यादवले बेवास्ता गरेका कारण उनलाई नै जनताबाट संकलन गरिएको राहत बुझाएको स्थानीय प्रवीण दासले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशलाई लकडाउन गरेको एक महिना बितेको छ। प्रदेश सरकारले गरिब, विपन्न तथा मजदुरलाई राहत वितरण गर्न रकम उपलब्ध गराएको पनि तीनसाता बितिसक्यो। तर सुखीपुर नगरपालिकाले अझै राहत बाँड्न सकेका छैन्।

‘लकडाउनले मजदुरी पनि गर्न नपाउँदा गरिब दलितहरु भोकभोकै मर्ने स्थितिमा पुगेका छन्ु, नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका दासले भने, ‘तर मेयर यादवले उनीहरुको पीडा बुझ्न सकेका छैन्। मेयर यादव अनेक बहाना बनाउदै आजभोलि गर्दागर्दै हालसम्म राहत वितरण नगरेकाले युवाहरुले उनलाई नै राहत बुझाएको उनको भनाइ छ।’

‘घर(घरमा पुगेर मेयरका लागि चामल, दाल, बिस्कुट, चाउचाउ र तरकारी संकलन गर्यौं,’ अर्का युवा नितेश यादवले भने, ‘संकलन राहत मेयर यादवलाई बुझाउन नगरपालिकाको कार्यालयमा पुगेका थियौं। तर प्रहरी र कर्मचारी मेयरलाई भेट्न दिएनन्। अनि कार्यालयमा राखेर निस्कियौं।’

राहत वितरण नगरेकै विषयमा कर्मचारी र स्थानीयबीच विवाद चर्केपछि वेशाख ७ मा नगरपालिका कार्यालयमा ढुङ्गामुढा गरिएको थियो। आक्रोशित स्थानीयले गरेको ढुङ्गामुढाका कारण कार्यालयको सिसाहरु फुटेको छ। मेयर यादव तानाशाही प्रवृत्तिको रहेकाले राहत वितरण नगरेको स्थानीयको आरोप छ।

यता, मेयर यादवले विभिन्न कारणले राहत वितरण गर्न ढिलो भएको बताए। वडाध्यक्ष नेतृत्वको सर्वदलीय समितिले राहत पाउनेको सूची बुझाउन ढिलो गर्दा समस्या भएको भन्दै सोमवार वा मंगलबारदेखि राहत वितरण गर्ने उनले बताए। 

Comment


Related News

Latest News

Trending News