
मधेश केन्द्रित दलहरु मधेशको मुद्दा कमजोर भइरहेको र निर्वाचनमा सकारात्मक नतिजा ल्याउनका लागि विभिन्न मोर्चा बनाइ सक्रिय रहेकै बीच अर्को खेल फेरि पनि शुरु भएको छ ।
संघीय लोकतान्त्रिक मोर्चा गठन गरेको केही महिना नवित्दै जनमत पार्टी अलग भएसंगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकताका लागि सकारात्मक रुपमा छलफल अघि बढेको बताइन्छ ।

जसले गर्दा मधेश केन्द्रित दलबीचमा समेत नयाँ तरंग उत्पन्न भएको छ भने मधेशमा फेरि पनि अर्को मोर्चा गठनको तयारी भइरहेको भन्ने चर्चा समेत चुलिएको छ । सात दलीय संघीय लोकतान्त्रिक मोर्चा क्रियाशील रहेको बेला अन्य दलहरूको बीचमा मोर्चाबन्दीसहित कार्यगत एकताको विषयमा छलफल अघि बढेको जनाइएको छ ।
एक नेताले दिएको जानकारी अनुसार जसपा, लोसपा र रामुपासहित तीन वटै दलको बीचमा हुनसक्छ वा अलग अलग पनि कार्यगत हुनसक्ने सम्भावना प्रबल रहेको जनाइएको छ । जसपाले लोसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालसँग अलग अलग कुराकानीसमेत गरेको छ । यी दलहरूको बीचमा विभिन्न चरणमा सकारात्मक कुराकानी भएको जसपाका एक नेताले जानकारी दिए ।
सोही विषयमा छलफल गर्न जसपाले बुधबार कार्यकारिणी समितिको बैठक बसेको उनले बताए । बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार बसेको बैठकमा कार्यगत एकता वा मोर्चाबन्दीको विषयमा छलफल भएको बताइएको छ । सो बैठकको एक मात्र एजेण्डा दलहरूसँग कार्यगत एकताका लागि भइरहेको सकारात्मक प्रयासको विषय रहेको बताइन्छ ।
जसपाका महासचिव इस्तियाक राइले लोसपा र राष्ट्रिय मुक्ति पार्टीसँग मात्र नभइ अन्य दलहरूसँग पनि छलफल अघि बढेको स्पष्ट पारे । उनले एजेण्डा, विचार र मुद्दा मिल्ने दलहरुसँग कार्यगत एकता वा मोर्चाबन्दी गर्ने जसपाले निर्णय नै गरेको बताए । कार्यकारिणी समितिको बैठकमा समेत यही विषयमा कुराकानी भएको उनले बताए । महासचिव इस्तियाक राइले भने ‘विभिन्न दलहरूसँग भएको छलफलको विषय त्यहाँ प्रस्तुत हुन्छ, अनि त्यसमा छलफल हुन्छ ।’
यता संघीय लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, रामुपा, तराई मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा नेपाल र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी आवद्ध छन् । यसै मोर्चामा आवद्ध रहेका सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा हुन लागेको उपनिर्वाचनमा संयुक्त उम्मेदवार उनको पार्टीले नपाएपछि अर्को उम्मेदवार खडा गरेको छ ।