
पर्साको ठोरी गाउँपालिका कार्यालयले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाविपरीत आठ लाख रुपैयाँभन्दा बढीको खर्च इन्धन सुविधा दिइएको पाइएको छ ।
ठोरी नगरपालिका कार्यालयले स्थानीय तहका पदाधिकारी तथा सदस्यले सुविधाविपरीत आठ लाख ५९ हजार ५० रुपैयाँको इन्धन सुविधा दिइएको महालेखाको प्रतिवेदनमा उल्लेख भएको पाइएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको ऐन २०७७ को दफा ४ मा पदाधिकारीहरूलाई सम्बन्धित स्थानीय तहले सवार ीसाधन वा अनुसूची बमोजिमको मात्र देहायको सुविधा दिने व्यवस्था उल्लेख गरेको छ । तर पालिकाको पदाधिकारीहरूलाई थप यातायात सुविधासम्बन्धी कानुनी व्यवस्था नरहेको हुँदा कार्यपालिकाको ०८० साउन ३२ को निर्णयबाट २६ पदाधिकारीहरूलाई विभिन्न दरमा थप इन्धन सुविधा दिएको उक्त रकम कानुनसम्मत नरहेको महालेखाको प्रतिवेदनमा लेखिएको छ ।
यसका साथै पालिकाले यसलाई यकिन गरेर असुल गर्नका लागि महालेखाको कार्यालयले औँल्याएको देखिन्छ । यस्तै, सोही मितिको निर्णयबमोजिम संघीय निकाय प्रहरी चौकी र बिओपीले पनि इन्धन सुविधा लिएको देखिन्छ ।
पालिकाबाट संघीय निकाय प्रहरी चौकी र बिओपीको चारचक्के गाडीलाई प्रतिमहिना ३० लिटर डिजेल र प्रहरी चौकी ÷बिओपीको दुईचक्के मोटरसाइकललाई प्रतिमहिना २० लिटर पेट्रोल दिने निर्णय भएको प्रतिवेदनमा देखिन्छ ।
संघीय निकायका युनिटहरूलाई कार्यपालिकाले इन्धन सुविधा दिन मिल्ने कानुनी व्यवस्था नरहेकोले यस्तो कार्यमा सुधार गर्न महालेखाले निर्देशन दिएको छ ।