२०८२ श्रावण २९, बिहीबार १४:१०

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पूर्व केन्द्रीय सदस्य तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले पार्टीभित्र लोकतन्त्र नरहेको बताएका छन् । उनले नाममा लोकतान्त्रिक भए पनि व्यवहारमा भने नभएको आरोप लगाए ।

बिहीबार रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलन गर्दै गुप्ताले लोसपामा भएको विभेदको विरोध र लोकतान्त्रिक रूपमा मन्त्री चयन गर्नुपर्छ भनेर आवाज उठाउँदा आफूलाई पार्टीबाट निष्कासित गरिएको बताए ।

‘एउटा युवा (माननीय कन्हैया) बनियालाई यस पटक मौका दिनुपर्छ भनेर आवाज उठाएको हुँ, आवाज उठाउँदा कुनै स्पष्टीकरण नसोधी मलाई पार्टीबाट निष्कासन गरियो, आफ्नो ज्यानको बाजी लगाएर आन्दोलनमा लागेको एउटा जनताको सिपाही हुँ, ’उनले भने ।

एक–दुई नेताले भन्दैमा पार्टीबाट कारबाही गर्नु कत्तिको जायज हो भन्दै उनले प्रश्न गरे । ‘लोसपाका केही नेताहरूले आज पार्टीलाई प्राइभेट कम्पनीमा ढाल्दै लगेको छ। मधेश आन्दोलन र आन्दोलनकारीहरूको मुद्दाको योगदानको सम्मान हुन छाडेको छ । ‘सत्ता केन्द्रित राजनीति हाबी हुँदै गएको छ । पुस्तान्तरण गर्ने नयाँ पिँढीलाई पालो दिने कुराहरू कुरामा सीमित हुन थालेको आभास भएको छ,’ उनले भने ।

गुप्ताले लोकतान्त्रिक पद्धति अनुरूप नै फरक मत प्रकट गर्दा पार्टीबाट अलोकतान्त्रिक व्यवहार भएको बताए । ‘कसैले मेरो व्यक्तिगत निष्ठामा प्रहार गर्दैमा हार खाने व्यक्ति होइन, मधेशको कुना कुनामा गएर मधेशबासीको घाउमा मल्हम लगाउन न हिजो कसैले रोक्यो, न आज रोक्छ, न भोली नै रोक्न सक्छ,’ उनले भने ।

चारपटक प्रदेशको मन्त्री भइसकेको व्यक्तिको रिपोर्ट कार्ड खोइ भन्दै उनले प्रश्न गरे । कसको दबाबमा एकै व्यक्तिलाई प्रत्येक पटक मन्त्री बनाइयो भनेर आफूले आवाज उठाएको उनले बताए । आफूले तानाशाही प्रवृत्तिको निरन्तर विरोध गरिरहने उनले बताए ।

गुप्ताले निकट भविष्यमा कुनै न कुनै प्रक्रिया र पद्धतिबाट पुनः आउने तथा देश र मधेशको हितका लागि उभिने जनाए ।

Comment


Related News

Latest News

Trending News