
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई नदीजन्य पदार्थ हिनामिना गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँभन्दा बढी जरिवानाको फैसला गरेको छ ।
सो मुद्दामा भरत थापासहित विमल कुमार पोखरेल र सागर पौडेल पनि प्रतिवादी थिए । अदालतले थापा, पोखरेल र पौडेलले संयुक्त रूपमा करिब ३० करोड २९ लाख रुपैयाँ बराबरको नदीजन्य पदार्थ हिनामिना गरेको ठहर गरेको छ ।

बिहीबारको फैसलाअनुसार, तीनै जना प्रतिवादीलाई जनही ८ वर्ष कैद सजाय तोकिएको छ । यसका साथै कुल बिगोको दामासाहीले हुने गरी जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ जरिबानासहित बिगोसमेत असुल गरिने अदालतले जनाएको छ ।
यसका अतिरिक्त, अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार उनीहरूलाई जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ ।