करिब तीन साता नवित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक मधेश प्रदेशमा यात्रा गरेका छन् । साउन ९ गते महोत्तरी र बारामा उद्घाटन र शिलान्यास गरी फर्केका प्रधानमन्त्री ओलीले पुनः महोत्तरीमा सडक शिलान्यास र धनुषाको मनहरपुरमा सडक शिलान्यास र जनकपुरधाममा मधेश प्रदेश प्रहरीको प्रशासनिक भवनको उद्घाटन गरी काठमाण्डु फर्केका छन् ।
मनहरपुरमा सडक शिलान्यास गरी जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नयाँ दलहरुलाई कडा आलोचना गरेका छन् । जनमत पार्टी, रास्वपालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले देशमा नयाँ शक्ति भनाउँदा दलहरुले जनतामा भ्रम सिर्जना गरिरहेको आरोप लगाएका छन् ।
जनकपुरधाममा शुक्रबार मधेश प्रदेश प्रहरीको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ शक्ति भनेर दाबी गर्नेहरूको देशमा केही योगदान नरहेकाले अहिलेको व्यवस्था मास्नेतर्फ लागिपरेको बताए । उनले रास्वपाप्रति लक्षित गर्दै नयाँ दलले देशमा अराजकता मच्चाउन भ्रम छरिरहेको बताए । ‘केही तत्व देशमा अराजकता फैलाउन, मच्चाउन, कुदिराख्या छन् ।
आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराख्या छन्,’ उनले भने, ‘नयाँ त भर्खर खोलेका पार्टी भवितव्यले खुलेका पार्टी, नयाँ त हुने नै भए । जसको कुनै योगदान छैन । जसको आफ्नो योगदान हुन्न उसलाई देशको र व्यवस्थाको माया पनि हुँदैन ।’ नयाँ पार्टीतर्फ संकेत गर्दै उनीहरूलाई वर्तमान व्यवस्था अत्यन्तै अप्रिय लागेको उनले बताए ।
यो व्यवस्था रहिरहने तर केही सुदृढ गरिने उनले बताए । ‘हामीले संघर्ष गरेका छौँ, त्याग गरेका छौँ, बलिदान गरेका छौँ आजको स्थितिमा पुग्नका लागि। सहिदहरू बनेका छन् । अंगभंग बनेका छन् मान्छेहरू । धेरैले शहादत प्राप्त गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने । उनले संघर्षका दिनमा कोही भूमिगत भएको, कोही जेलनेल व्यहोरेको र लामो संघर्षबाट अहिलेको लोकतन्त्र आएको बताए ।
उनले भने, ‘ठुलो क्षतिबाट डेमाक्रेसी ल्याइएको हो, अन्धकार युगबाट देशलाई आजको दिनमा ल्याइएको हो । त्यस कारण जसले संघर्ष गरेर आए उसलाई माया छ, जोगाउन चाहन्छन्, जसले संघर्ष गरेको होइन, जसले यो दिन आउन दिन खोजेका थिएनन् उनीहरूले लोकतन्त्र भत्काउन चाहेको पनि उनले बताए। उनले भने, ‘उनीहरू देशलाई बरबादी बनाउन चाहन्छन् । ती संसद्मा आएझैँ गर्छन्, हाजिर गर्छन्, भत्ता पड् काउँछन्, अनि बाहिर जान्छन् ।’
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त रुपमा बनेको सरकारले सुशासन र विकासलाई अघि बढाउन लागिपरेको बताए । उनले राष्ट्रलाई सुशासनको दिशामा अगाडि बढाउन विनाझन्झट सेवा सुविधा उपलब्ध गराउने अभिभारा सरकारले बोकेको बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि नयाँ संकल्पका साथ सरकार अगाडि बढिरहेको बताए ।
उनले प्रहरीले आफ्नो कर्तव्यनिष्ठ व्यवहार, अपराध, अनुसन्धानलगायत लागूऔषध निन्त्रण तथा देशलाई बर्बादीतर्फ धकेल्ने तत्वतर्फ मधेश प्रदेश प्रहरी विशेष सजग र सर्तक हुन जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाल लागूपदार्थबाट पीडित भइरहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘आज नेपाल नै लागूपदार्थबाट पीडित भइरहेको छ ।
हाम्रा बालबालिकाहरू फसाइरहेका छन्,’ उनले अघि थप्दैँ भने, ‘केही पैसाका लागि देशलाई बर्बादीतर्फ धकेल्ने प्रयास भइरहेको छ ।’ त्यसमा पनि मधेश प्रदेश अझ सजिलो गरी ड्रक्स भित्रिने र बालबालिका र युवाहरू फसाइने क्रियाकलाप भइरहेको असहज स्थिति देखिएको उनले बताए । त्यस्तै भन्सारबाट उठ् नुपर्ने जति राजस्व नउठेको पनि उनले बताए ।
मधेश प्रदेशमा केही सिकायत आइरहेको बताउँदै निर्दोष फसाइने, दोषी उम्काउने किसिमका विषयमा प्रहरीले सचेत हुनुपर्ने उनले बताए । त्यस्तै प्रधानमन्त्री ओलीले ओलीले विश्व बैंक तथा मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुने सहिद मार्गमा पर्ने मनहरपुर–बघचौडा– सिमरदही सडकको शिलान्यास गरेका थिए ।


