मधेश प्रदेशमा वर्षेनि पानीमा डुबेर मृत्यु हुने बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।
विगत वर्षमा करिब एक सय पचासभन्दा बढीको मृत्यु भएको थियो । यसरी तीन वर्षको तथ्यांक हेर्दा मधेश प्रदेशका आठवटै जिल्लामा पानीमा डुबेर मुत्यु हुने ५ सय ८६ को मृत्यु भएको छ भने मृतक बालबालिकामध्ये बालकको संख्या बालिकाभन्दा बढी रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
गत असार २४ गते जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका थिए । दुवै जना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसक्दा डुबेर मृत्यु भएको थियो ।
दुवै जनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको गरेको थियो । त्यस्तै गत जेठमा धनुषाकै कमला नगरपालिकामा सडक निर्माण गर्न खनिएको खाल्डोको पानीमा डुबेर नगरपालिका–२ स्थित सराबेका ७ वर्षीय रितिक साह र ५ वर्षीय रितिश साहको डुबेर मृत्यु भएको थियो । मुत्यु हुने बालक दाजुभाइ रामबाबु र श्यामबाबुका छोरा थिए ।
त्यस्तै गत वर्ष असार २० गते धनुषाको धनौजी गाउँपालिका–५ स्थित बहुअर्बाको सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका थिए । १० देखि १२ वर्ष उमेर समूहका यी तीन जना बालिका स्थानीय घोंघा पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा एक्कासि उनीहरू डुब्न थाले होहल्लापछि स्थानीय युवाहरूले निकालेका थिए ।
तर उनीहरूमध्ये एकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भयो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा पानीमा डुबेर मृत्यु हुनेमा मधेश प्रदेशमा ५८६ जना रहेका छन् भने त्यसमध्ये बालबालिका ३४० जना रहेका छन् ।
जसमा बालक २२७ र बालिका ११३ रहेका छन् । तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशमा पानीमा डुबेर मृत्यु हुनेको जम्मा सङ्ख्या २५६ पुगेको छ, जसमा बालक ९६, बालिका ५४, पुरुष ८२ र महिला २४ रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा १७५ जनामा बालक ७३, बालिका ३९, पुरुष ५० र महिला १३ जना रहेका छन् भने २०७९/०८० मा १५५ जनामा बालक ४८, बालिका ३३, पुरुष ६२ र महिला १२ जना रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका कार्यालयका अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सोनुकुमार साहले छारे रोग, जथाभाबी बनाइएका खाल्डाखुल्डी र अभिभावकको लापरबाहीका कारण अधिकाशं बालबालिकाको पानीमा डुबेर मृत्यु भएको बताए । उनका अनुसार बालिकाभन्दा बालक र महिलाभन्दा पुरुषको पानीमा डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा प्रदेशको आठवटै जिल्लामध्ये सबै भन्दा बढी धनुषामा मृत्यु भएको छ ।



