प्रतिनिधिसभाका सांसदहरूले भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनी गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने धेरैजसाे सांसदहरूले नेपालको भूमि फिर्ता ल्याउन सरकारको दरिलो कूटनीतिक पहलका लागि अनुरोध गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य तारा लामाले नेपालको लिपुलेक भएर भारत र चीनले व्यापार गर्ने विषय नेपाललाई कुनै पनि हालतमा मान्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, लिपुलेक नेपालको अभिन्न भू–भाग हो । त्यो भूमि फिर्ताका लागि सरकारले दरिलो कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारलाई अनुरोध गर्दछु ।
सांसद दुर्गा राईले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाभिमानलाई आँच पुग्ने गरी भारत र चीनले नेपालको लिपुलेक प्रयोग गर्ने सहमति सम्झौता मान्य नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, सत्तापक्ष र प्रतिपक्षबीच यस विषयमा एक पटक फेरि राष्ट्रिय सहमति कायम गरौँ । भूगोलमा सानो भए पनि नेपाल सार्वभौम छ, लिपुलेकका सम्बन्धमा भारतको दाबी सत्यता र प्रमाणमा आधारित छैन, एकतर्फी कृत्रिम दाबी नेपालाई स्वीकार्य हुँदैन, यस विषयमा कूटनीतिक पहल गर्न ढिलाइ गरिनु हुन्न ।
सांसद नारायणी शर्माले लिपुलेक, कालापानी र लिम्पीयाधुरा नेपालकै अभिन्न भू–भाग भएकाले भारत र चीनले नेपालसँग कुनै छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग सञ्चालनका लागि भएको सहमतिलाई स्वीकार्य गर्न नसकिने बताउनुभयो । उहाँले सवै राजनीतिक दलले एउटै सङ्कल्प गरेर प्रधानमन्त्रीको नेतृत्वमा समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।
सांसद नैनकला थापाले सार्वभौम र स्वाधीन नेपालीलाई लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिले चिन्तित बनाएको बताउनुभयो । उहाँले चीन र भारतले नेपालाई हेप्ने प्रवृत्ति देखाएकाले त्यो सोच तत्काल सच्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।
सांसद प्रभु हजाराले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भू–भाग भए पनि चीन र भारतले नेपालसँग कुनै परामर्श नगरी त्यस क्षेत्रमा व्यापारिक नाका बनाउने निर्णय नेपालीका लागि अमान्य रहेको प्रतिक्रिया दिनुभयो ।
सांसद प्रेम महर्जनले भारत र चीनसँग नेपालका घनिष्ठ सम्बन्ध रहेकाले नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन दरिलो कूटनीतिक प्रयासको खाँचो औँल्याउनुभयो ।
यस्तै विशेष समयमा सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट व्यापारिक मार्ग बनाउन भएको सम्झौताको विषय कूटनीतिक तरिकाले समाधान गरिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै दुवै देशको भ्रमण गर्ने तालिका तय भएकाले कूटनीतिक वार्ताका माध्यमबाट समस्या समाधान गरिनुपर्ने उहाँले बताउनुभयो । सबै नेपाली एक भएर यस विषयमा साथ दिनुपर्ने सांसद खतिवडाको भनाइ थियो ।
सांसद मेटमणि चौधरीले भारत र चीनले लिपुलेकबाट व्यापार गर्ने सम्झौता दादागिरी भएको बताउनुभयो । नेपाल र नेपालीलाई जिस्क्याउने प्रयास कसैले गर्न नहुने उहाँको भनाइ थियो । प्रधानमन्त्रीको चीन र भारत भ्रमणको कार्यतालिका तय भएकाले त्यस बेला कुरा उठाएर समस्या समाधान गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद प्रभु साहले सरकारले १० वर्षअघि नै दुवै देशलाई लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो भनी कूटनीतिक नोट पठाएकामा किन सुनुवाइ भएन ?, ती देशमा रहेका नेपाली राजदूतले के गरिरहेका छन् ? कार्य सम्पादन मूल्याङ्कन गर्न उहाँले माग गर्नुभयो ।


