
वीरगन्जमा हैजाको संक्रमण समुदाय स्तरमै फैलिएपछि नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले अभियान सञ्चालनमा जुटेको छ ।
३० भन्दा बढी बिरामी र झाडापखालाले ३ जनाको मृत्यु भएपछि वीरगन्ज महानगरमा हैजाले जनजीवन त्रसित बनाएको छ । झाडापखालाले मृत्यु भएकाहरूमा हैजा भए नभएको पुष्टि हुन बाँकी छ, बिरामी ३ जनाको दिशामा हैजाको जीवाणु देखिएको छ ।

शुक्रवार राति वीरगन्ज–१२ मुर्ली टोलमा हैजा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । शनिवारसम्म मध्यान्हसम्ममा वडा नम्बर ११, १३ र १६ मा हैजा फैलिएको छ । हैजा नियन्त्रणका लागि महानगरले शनिवार अस्पतालका सञ्चालकहरूसँग बैठक गरेको छ ।
संक्रमण नियन्त्रण गर्न थप सतर्कता अपनाउन आग्रह गरिएको छ । महानगर प्रमुख राजेशमान सिंहले सङ्क्रमण फैलावट रोक्न र संक्रमित वडाका बासिन्दालाई सुरक्षित राख्न सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्न निर्देशन दिएका छन् ।
महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई तत्काल बोलाएर संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा परिचालन गरेको छ भने आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाइमा राखिएको छ।
वीरगंजको १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त क्षेत्र मानिएको छ । महानगरले हेल्प डेस्क र सूचना केन्द्र समेत स्थापना गरेर संक्रमण नियन्त्रणलाई सहज बनाउन पहल गरेको छ। मुर्ली टोलमा ३० जना स्थानीयलाई झाडापखालाको लक्षण देखिएपछि तराई अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले शंका व्यक्त गर्दै महानगरलाई नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पुष्टि भएको हो।
नारायणी अस्पताल, वीरगन्ज हेल्थकेयर, तराई अस्पताललगायत स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीको चाप बढिरहेको छ। शनिवारसम्म झाडापखालाकै कारण तीन जनाको मृत्यु भएको जानकारी आएको छ, तर ती मृत्यु हैजाकै कारण भएको वा नभएको पुष्टि भने हुन बाँकी छ।
वीरगंजको विभिन्न बस्तीमा ढल र खानेपानी मिसिने समस्या देखिएकाले महामारी फैलिएको अनुमान गरिएको छ। त्यसैले महानगरले खानेपानीमा क्लोरिन हाल्ने, उमालेर मात्र खाने, र सफा खानेपानी प्रयोग गर्ने आग्रह गरेको छ। यससँगै स्वास्थ्यकर्मीहरूले समुदाय स्तरमै घर-घर सचेतना अभियान सञ्चालन गर्दै हात धुने बानी, सफा खानेपानी, र व्यक्तिगत सरसफाइमा ध्यान दिन जनतालाई आग्रह गरिएको छ ।