पर्साको वीरगञ्ज महानगरपालिकामा हैजा संक्रमण फैलिँदै गएको छ । दुई दिनमै वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा २८ जनामा हैजा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
हैजाका संक्रमित बढ्न थालेपछि स्थानीय भने त्रसित बनेका छन् । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले वीरगञ्ज महानगरपालिकामा समुदायस्तरमै शुक्रबारदेखि हैजाको संक्रमण देखिन थालिएको जानकारी दिए । उनले भने, ‘हिजोदेखि महानगरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा संक्रमणको पुष्टि भइसक्यो ।’
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३, १४, १६ मा हैजा संक्रमित बढी फेला परेका े छ । यसले महामारीको गम्भीर रूप लिन सक्ने चेतावनी जनस्वास्थ्य कार्यालय पर्साले दिएको छ । वीरगञ्ज महानगरपालिकाको नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर, तराई अस्पताल, नेशनल मेडिकल कलेज, अलि अर्थो सेन्टरमा हैजा संक्रमितलाई राखिएको जनाइएको छ ।
दूषित पानी र खानाले हैजाको संक्रमण देखिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु शाहले जानकारी दिए । उनले हाल संक्रमणको आंशका गरी स्वास्थ्य जाँच बढाइएको बताए । शुक्रबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ स्थित मुर्लीमा झाडापाखालाका बिरामी एक्कासी बढेको थियो ।
स्थानीय तराई अस्पतालमा हैजा संक्रमित फेला परेपछि परीक्षण शुरु गरिएपछि ३० जनामा गरिएको जाँचमा ३ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यससंगै अन्य अस्पतालमा जाँच गर्दा संक्रमितको संख्या बढेको पाइएको छ । अहिले वीरगञ्ज महानगरभित्र बाक्लो जनसंख्या भएको क्षेत्रमा महामारीको चपेटामा पर्न सक्ने देखिएको जनस्वास्थ्य कार्यालयले चिन्ता व्यक्त गरेको छ ।
यता हैजा संक्रमण बढ्न थालेपछि महामारीको रुप लिने सक्ने भन्दै वीरगञ्ज महानगरभित्र सुरक्षा सतर्कता पनि बढाइएको छ । यसैबीच महानगरपालिकाको कार्यालयले शनिबार सबै वडाका स्वास्थ्यकर्मीसँग छलफल गरेर सबै विद्यालयहरू दुई दिनसम्मका लागि बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै आइतबार र सोमबार दुई दिन विद्यालय बन्द गर्ने निर्देशन दिएको छ । यसका साथै पानीपुरी, चटपटे, चाटसहित स्ट्रिट फुड बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय पनि भएको छ । स्वास्थ्यकर्मीहरूले हैजाको लक्षण देखिए तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा पुग्न, उमालेर मात्रै पानी पिउन आग्रह गरिरहेका छन् ।
वीरगञ्ज महानगरमा खानेपानीको हाहाकार भएपछि तीनै तहका सरकारले त्यसको आपूर्तिका लागि धमाधम डीप बोरिङको व्यवस्था गरको थियो । त्यसपछि सर्वसाधारणले डीप बोरिङको पानी प्रयोग गर्न थालिए पनि पिउने पानी योग्य छ/छैन भन्ने निकायबाट पनि जाँच गर्ने निकाय छैन । वीरगञ्जमा ढल र खानेपानी प्रणाली अस्तव्यस्त छ । हैजा जोखिम बढ्नुमा यहाँ पानी मुख्य कारक भएको चिकित्सकहरू बताउँछन् । वीरगञ्ज हेल्थ केयरका चिकित्सक अबुलहैस अन्सारीका अनुसार ‘भिब्रियो कोलेरा’ ब्याक्टेरिया नामक भाइरसको इन्फेक्सनका कारण हैजा फैलिएको हुन सक्ने आशंका गरिएको छ ।
दूषित पानी र खानाले नै यो रोग लाग्ने गरेको उनको कथन छ । हैजा फैलिएपछि झाडापाखाला वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता उदय नारायण सिंहले जनाए अनुसार मृतकमा शुरुमा झाडापखाला देखिएको र परीक्षण गर्न नपाउँदै मृत्यु भएको छ, वीरगञ्ज हेल्थ केयरमा पनि हिजो एक जना महिलाको झाडापखालाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
हेल्थ केयरका चिकित्सक अन्सारीका अनुसार जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर– ९ का एक महिलालाई झाडापखाला लागेका र उपचारका क्रममा उनको मृत्यु भएको थियो । यद्यपि मृतक दुवैमा हैजा जाँच नभएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
यसैबीच खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यान सहितको टोली परिचालन गरिएको छ ।
वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीहरूको संख्या बढ्दै गएपछि मन्त्री यादवले वीरगञ्जमा खानेपानी परीक्षणका लागि आवश्यक सामग्री सहितको मोबाइल भ्यान टोली खटिएको र टोलीले पानी परीक्षणको काम सुरु गरिसकेको बताए । उनले हैजा नियन्त्रणका लागि सरकार पूर्ण रूपमा संवेदनशील रहेको पनि बताए । हैजाको संक्रमण नियन्त्रणका लागि मधेश प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ ।
उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा.विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगञ्ज पठाइएको प्रदेश सरकारले जनाएको छ ।


