अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी मन्त्री फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचौ पटक पत्राचार गरेको छ ।
जसपाले गत वैशाखदेखि नै मन्त्री फेरबदल गर्नका लागि पाँचौँ पटक पत्राचार गरेको छ । शनिबार बसेको पार्टीको बैठकमा पुनः मन्त्री फेरबदलको विषय उठेपछि फेरि पत्राचार गरिएको जसपाले जनाएको छ ।
जसपाबाट खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी रहेका छन् । जसपाका एक नेताले दिएको जानकारी अनुसार खानेपानी मन्त्री यादवको ठाउँमा सांसद वीरेन्द्र महतो र सुडीका ठाउँमा सांसद रञ्जु झालाई मन्त्री बनाउने निर्णय भएको पत्र गत वैशाखदेखि हालसम्म पाँच पटक पठाइसकिएको छ ।
पाँच पटकसम्म पत्र पठाउँदा पनि अब अध्यक्ष अशोक राईले अब नभन्ने प्रतिक्रिया दिए । अध्यक्ष राईले भने, ‘अब पाँच पटकसम्म पत्र पठाइसकेको छु । अब पत्र पठाउँदिन भनेर गुनासो समेत व्यक्त गर्नुभयो ।’ जसपाका उपाध्यक्ष परशुराम बस्नेतले दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको बताए । अहिले सोही निर्णय कार्यान्वयन गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे ।


