
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले शिष्टाचार भेट गर्नुभएको छ ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताउनुभएको थियो । नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरुमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै उहाँले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
उहाँले विशेषतः बौद्ध धर्म हाम्रा दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुको रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुशीको विषय भएको पनि बताउनुभएको थियो ।
सो अवसरमा भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले अन्तर्राष्टिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको समेत बताउनुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।