
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको छ ।
मंगलबार माइतिघरमा पुगेर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै केहिबेर धर्नामा सहभागी हुनुभएको हो । सो क्रममा नेपाल र भट्टराईले किसानको माग र समस्याका बारेमा जानकारी लिनुभएको थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना पार्टीले उखु किसानका बारेमा सदनमा पनि आवाज उठाएको र धर्नास्थलमा आएर किसानहरुका मनोवल उठाउन खोजेको बताउनुभयो ।

उखु किसानको आन्दोलन निजि स्वार्थका लागि नभएर देशको अर्थतन्त्रका लागि पनि महत्वपूर्ण रहेको उहाले उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले उखु किसानले लामो समयदेखि बिभिन्न समस्या भोग्नुपरेकाले जायज मागलाई तुरुन्त सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने र सीमापारिबाट सस्तो चिनि ल्याएर कमिशन खाने र जनतालाई महङ्गोमा बेच्ने काम भएको बताउनुभयो । उहाले उखु किसानहरुको उत्पादनको किसानहरुको समेत सहभागीतामा मूल्य तोक्नुपर्ने र समयमा नै अनुदान दिनुपर्ने जिकिर गर्नुभयो । किसानहरुको आन्दोलन जायज भएकाले आफुहरुको पूर्ण समर्थन रहेको उहाको भनाइ छ ।
सरकारले विगतमा तोकेको अनुदान नदिएको र अहिले अनुदान नै कटौति गर्ने तयारी भएको भन्दै उखु किसानहरु आन्दोलित छन् ।