
पाँच वर्षदेखि पूर्वमन्त्री सञ्जयकुमार साह ‘टकला’ विरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।
२०७७ असोज ५ गते सर्वोच्च अदालतमा पुगेको मुद्दा पाँच वर्षमा १४ पटक सुनुवाइका लागि इजलाश तोकिएको छ । सो मुद्दामा एक पटक पेशीको सूचना दिने, एक पटक प्रत्यर्थी झिकाउने र दुई पटक अन्य आदेश भएको थियो ।

चौध पटक साप्ताहिक पेशी सूचीबाटै हटाइएको थियो । सो मुद्दामा दुई वर्षदेखि सुनुवाइ हुन सकिरहेको छैन । २०८० भदौ ६ मा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. नहकुल सुवेदीको संयुक्त इजलासले मिसिल झिकाउने आदेश गरेको थियो । त्यसपछि यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासको पहिलो नम्बरमा रहेको मुद्दा महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको छ । अब यो मुद्दाको अन्तिम सुनुवाइ कहिलेबाट हुन्छ भन्ने अनिश्चित नै छ ।