
हिजोदेखि मनसुन फेरि सक्रिय भएको छ । गएराति र अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । कैलालीमा सबैभन्दा धेरै पानी परेको छ ।
कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएकाले त्यस क्षेत्र भई बहने ससाना खोला आसपास र तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पछिल्लो १२ घण्टामा कैलालीसँगै लमजुङ, काठमाण्डौ, झापा, ताप्लेजुङ, भोजपुर, धादिङ, स्याङ्जा, गोरखा, काभ्रेपलाञ्चोक, पाल्पा, दाङ, जाजरकोट लगायतका ठाउँमा धेरै पानी परेको छ । केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहडी भूभागका साथै लुम्बिनी र कोशीको तराई भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।