नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर भित्रमा केन्द्रको महाधिवेशन सम्पन्न हुनसक्ने बताएका छन ।
मलंगवामा बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले स्पष्ट पारे । उक्त कार्यक्रममा महामन्त्री थापाले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए । उनले उखु किसानलाई अनुदान दिनुपर्ने प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रिपरिषदमा लगेको भए पनि अस्वीकार भएको बताए । यद्यपि मन्त्री अधिकारीको जोडबलमा अघिल्लो बर्षको पैसाबाट ३५ रुपैयाँ अनुदान दिएको थापाले बताए ।
आफूले पार्टी सभापतिलाई ध्यानाकर्षण गराएको उल्लेख गर्दै थापाले सभापतिले प्रधानमन्त्रीसँग कुरा गरेको बताए । उखु किसानको भुक्तानीका लागि पैसा खोज्न नपर्ने उनले दाबी समेत गरे । मधेशमा कृषिको समस्या अन्त्य गर्न सरकारले चासो दिनुपर्ने उनले बताए । महामन्त्री थापाले प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको राजनीतिक जीवन सफल भएको स्मरण गरे । नेपाली कांग्रेस सर्लाहीले दिवंगत कोइरालाको स्मृतिमा लालबन्दी नगरपालिका–२ को जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम परिसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै महामन्त्री थापाले कांग्रेसका नेता, कार्यकर्ताले कोइरालाको मागदर्शन अनुशरण गर्नुपर्ने बताए ।
श्रद्धाञ्जली सभामा दिवंगत कोइरालाको जीवनीबारे मात्रै चर्चा गरेका कांग्रेस महामन्त्री थापाले कोइरालाको योगदान सदैव उल्लेख्नीय रहेको बताए । जीवनभर लाभको कुनै पद नलिएको भन्दा पनि उनले समाजमा पुर्याएको योगदानको विषयलाई बाहिर ल्याएर लिपिवद्ध गरेर राख्नुपर्नेमा उनले बताए । उक्त कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले वासुदेवशरण कोइरालाबाटै समाजसेवा र राजनीतिमा प्रेरित भएको बताए ।
सभामा कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, कार्यवाहक जिल्ला सभापति डा. सरोजकुमार यादव, पूर्व जिल्ला सभापति नागेन्द्रकुमार यादव, मधेश प्रदेश सभा सदस्य जङ्गीलाल राय, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, जिल्ला सचिव मनोज यादव, नेतृ सोनीकुमारी बोम्जनलगायतले सम्वोधन गर्दै कुशल र निष्ठावान नेता गुमाउनुपरेको प्रति दुःख व्यक्त गरेका छन् ।
जुटपानी आश्रमका संरक्षकसमेत रहेका कोइरालाको भदौँ ३ गते ९३ वर्षको उमेरमा निधन भएको थियो । कोइरालाले आफू जीवित रहँदै मृत्युपश्चात आफ्नो शरीर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई अनुसन्धानका लागि प्रदान गरेर अनुकरणीय काम गरेको भन्दै महामन्त्री थापासहित अन्य वक्ताहरुले प्रशंसा गरेका छन् ।



