
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि विधेयक विचौलिया भू–माफियाको इसारामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बताएका छन् ।
जनकपुरधाम शनिबार मधेशी स्वास्थ्यकर्मी फोरम मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भूमि विधेयकले मधेशलाई मरुभूमि मात्र नभइ औपनिवेशीकीकरणमा परिणत गराउने चेतावनी दिए । त्यसैले जसपा नेपालले शुरुदेखि ओली सरकारको कदमविरुद्ध आन्दोलनलाई निष्कर्षसम्म पु¥याउनु पर्ने उनले बताए ।

मधेशलाई मरुभूमि बनाउने ध्येयका साथ सरकारले भूमि विधेयक ल्याएको आरोप अध्यक्ष यादवले बताए । चुरे विनाशका कारण मधेशमा भूमिगत पनिको सतह समाप्त हुँदै गएको अवस्था सरकारले ल्याएको भूमि विधेयकले थप चुरे विनाश भइ मधेश मरुभूमिमा परिणत हुने निश्चित रहेको उनले बताए ।
अध्यक्ष यादवले मुलुकको विकासको लागि सरकार सुल्टोबाटो हिड्नु पर्नेमा झन उल्टो बाटोमा हिड्न थालेको बताए । प्रजातन्त्रको ३५ वर्षे अवधिमा मुलुक अघि बढ्नु पर्नेमा काँग्रेस र एमालेका कारण मुलुकलाई झन् अधोगति भोग्नु परिरहेको बताउँदै उनले भने, ‘यो अवधिमा मुलुकको उद्योग धन्दा समाप्त भएको छ, शिक्षाको गुणस्तर खस्किएको छ, मुलुक ऋणमा डुबेको छ । त्यतिमात्र होइन मुलुक अहिले ग्रे लिष्टमै परि सकेको छ ।’ मुलुकमा गरिबी भ्रष्टाचार र बेथिति अन्तिम बिन्दुमा पुगेको भन्दै उल्लेख गर्दै अध्यक्ष यादवले त्यसको अन्तको लागि जसपाले नयाँ आन्दोलनको शुरुवात गरेको बताए ।
उक्त कार्यक्रममा जसपा नेपालका महासचिव तथा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले मधेशको भावना विपरीत ल्याइएको अपूर्ण संविधानलाई पूर्णता दिन जसपा नेपालको संघर्ष जारी रहेको स्पष्ट पारे । अध्यक्ष यादवले वर्तमान सरकार वर्तमान संिवधानकै विरुद्ध गई भूमि विधेयक ल्याएको दाबी गरे ।
भूमि विधेयकले मधेशमा मधेशीलाई अल्पमत पार्ने महेन्द्र पथलाई निरन्तरता दिएको हुँदा त्यसको विरुद्ध संघर्ष आवश्यक रहेको बताए । उनले मधेशी समुदायमाथिको भेदभाव अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने बताए । उनले राज्यको नजर अझै पनि मधेश र मधेशीप्रति भेदभावपूर्ण नीति रहेको आरोप लगाए ।
उनका अनुसार मधेशलाई आर्थिक विकासमा कमजोर बनाइएको छ भने सरकारी निकायमा मधेशीहरूको समावेशीता न्यून रहँदै आएको छ । उनले भने, “मुलुकमा आधा भन्दा बढी मधेशी समुदाय भए पनि कुनै निकायमा समावेशीता अत्यन्तै न्यून छ । प्रतिनिधि सभामा केही मात्र भए पनि राष्ट्रिय सभामा ५९ सदस्य मध्ये जम्मा ६ जना मात्रै मधेशी छन् ।” जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने लोकतन्त्रको मूल्य मान्यता विपरीत मधेशीहरूलाई प्रायः कोटाको भरमा मात्र प्रवेश हुने अवस्था रहेको उनको भनाइ थियो ।
उनले उच्च पदमा मधेशीहरूको प्रतिनिधित्व अझै पनि कमजोर रहेको उल्लेख गर्दै, “भेदभाव कम भएको छ, तर समाप्त भएको छैन,” यादवले भने । अध्यक्ष यादवले बराबरीको सत्ता साझेदारीलाई मधेशीहरूको अधिकारको रुपमा व्याख्या गर्दै “त्यो पूरा गर्नु हाम्रो लक्ष्य रहेको बताए । उनले शोषण र उत्पीडन अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने दोहो¥याए ।
उक्त कार्यक्रममा अध्यक्ष यादवलाई ५१ किलोको फुलको माला लगाएर स्वास्थकर्मीहरुले स्वागत गरेका थिए । स्वास्थ्यकर्मी फोरम मधेश प्रदेशका अध्यक्ष विनोद यादवको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन सत्रमा जसपा नेपालका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
मधेश प्रदेश अधिवेशनबाट नयाँ नेतृत्वको चयन गर्दै आइतबार समापन हुने आयोजकले जनाएको छ ।