२०८२ भाद्र १६, सोमबार ०७:३४

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयक मधेशलाई मरुभूमि बनाउने उद्देश्यले आएको आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा आइतबार जसपा नेपाल नगर समितिको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले चुरे क्षेत्रको विनाशकै कारण भूमिगत पानी घट्दै गएको उल्लेख गर्दै विधेयकले मधेशलाई उपनिवेशीकृत बनाउने खतरा रहेको चेतावनी दिए ।

अध्यक्ष यादवले मुलुकको ३५ वर्षको प्रजातान्त्रिक यात्रामा प्रगतिको सट्टा अधोगति भएको दाबी गरे । उनले उद्योग–धन्दा ध्वस्त हुनु, शिक्षाको स्तर खस्किनु, देश ऋणमा डुब्नु र ग्रे लिस्टमा पर्नुमा कांग्रेस र एमालेलाई दोषी रहेको बताए । गरिबी, भ्रष्टाचार र वेथिति चरम सीमामा पुगेको भन्दै त्यसको अन्त्यका लागि नयाँ आन्दोलन सुरु गरिएको उनले बताए ।

अपूर्ण संविधानलाई पूर्णता दिने संघर्ष पनि जारी रहने उनको भनाइ थियो । अध्यक्ष यादवले भूमि विधेयक संविधान विपरीत रहेको दाबी गर्दै यसले मधेशीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको आरोप लगाए । सो अवसरमा महासचिव मनिष सुमनले विधेयक अघि बढाइए वा गौर घटनामा अध्यक्ष यादवलाई फसाउने चाल चले सशक्त आन्दोलनमा जाने चेतावनी दिए ।

उक्त कार्यक्रममा निर्वाचित नगर समितिका पदाधिकारीलाई जिल्ला निर्वाचन अधिकृत धनेश्वर यादवले शपथ गराएका थिए। यस अवसरमा अरुण यादव, अनिरुद्ध प्रसाद सिंह यादव, किरण साह, डा. बबी यादव, उपप्रमुख इसरत परविन, दिनेश यादव, रामेश्वर यादवलगायतकाले शुभकामना दिए । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता–कार्यकर्ता जसपामा प्रवेश गरेका थिए । उनीहरूलाई अध्यक्ष यादवले माला र अबिर लगाएर स्वागत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News