अपडेट 
२०७७ बैशाख १५, सोमबार १७:४४

काठमाडौं । लकडाउनको समयमा नेकपाभित्रको विवाद चर्किएको छ । नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको प्रस्ताव अघि बढाएका छन् ।

दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको हो । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन सुझाब दिएका छन् । तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौती सामना गर्ने जवाफ दिएका छन् ।

स्थायी समितिका २० सदस्यले लिखित माग गरे पनि अध्यक्ष ओलीले तत्काल बैठक बोलाउन स्वीकार गरेका छैनन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक बोलाउनुपर्ने पक्षमा छन् । यही विषयमा छलफल गर्न ओलीले प्रचण्ड, नेपाल र गौतमलाई शनिबार बालुवाटार बोलाएका थिए ।

मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेर राष्ट्रपतिबाट जारी भएको दिन बसेको सचिवालय बैठकमा खरो आलोचना गरेका वरिष्ठ नेता खनाल र प्रवक्ता श्रेष्ठलाई भने ओलीले शनिबार बालुवाटार बोलाएका थिएनन् । तर, अध्यादेश जारी हुने दिन नरम देखिएका गौतमले शनिबार भने ओलीको खरो आलोचना मात्र गरेनन्, ओलीको नेतृत्व असफल भएको भन्दै दुवै पदबाट राजीनामा पनि मागे ।

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव सामान गर्न तयार रहेको बताएका छन् । छलफलमा उनको भनाई थियो– तपाईंहरूको मागअनुसार अध्यादेश फिर्ता भइसकेको छ, अब अहिले नै स्थायी समितिको बैठक बोलाउने स्थिति छैन, मलाई हटाएर कसलाई ल्याउन खोज्नुभएको छ रु म राजीनामा दिन्नँ । बरु, तपाईंहरू अविश्वास प्रस्ताव ल्याउनुस्, सामना गर्छु । को–कसले मेरोविरुद्ध मतदान गर्छन्, तिनका नाम पनि छातीमा राख्छु । तर, अन्तिम घडीसम्म डटिरहन्छु ।

बैठकमा वामदेव गौतमको भनाई थियो अब हामीलाई धेरै नधम्क्याउनुस्, बरु प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर बालकोट जानुस्, आराम गरेर बस्नुस् ।’

आफूले राजीनामा दिए कसलाई प्रधानमन्त्री र कसलाई अध्यक्ष बनाउने तयारी छ भनेर ओलीले गौतमलाई सोधेका थिए । गौतमको जवाफ थियो, ‘तपाईंले राजीनामा दिएपछि पार्टीले विधिसम्मत प्रक्रियाबाट निर्णय गर्छ । तर, सरकारलाई असफल र पार्टीलाई बदनाम बनाएर तपाईं बसिरहन मिल्दैन ।’

गौतमको भनाइमा जवाफ दिँदै ओलीले भनेका थिए, ‘मविरुद्ध षड्यन्त्र भइरहेको छ भन्नेमा म स्पष्ट छु, तर म राजीनामा दिन्नँ । बरु, तपाईंहरू अविश्वास प्रस्ताव ल्याउनुस्, सामना गर्छु । को–कसले मेरोविरुद्ध मतदान गर्छन्, तिनका नाम पनि छातीमा राख्छु । तर, अन्तिम घडीसम्म डटिरहन्छु ।’

पार्टी अध्यक्ष प्रचण्डले छलफल र निर्णय गर्न स्थायी समिति बैठक बोलाउनुपर्ने भनाइ राखेका थिए । ‘आवश्यक निर्णय पार्टीले गर्छ, छलफल गर्न पार्टी स्थायी समितिको बैठक बोलाऔँ । २० जना सदस्यले लिखित माग पनि गर्नुभएको छ,’ प्रचण्डको भनाइ थियो ।

प्रचण्डको प्रस्तावलाई वरिष्ठ नेता नेपालले पनि समर्थन गरेका थिए । तर, अध्यक्ष ओलीको जवाफ थियो, ‘तपाईंहरूको मागअनुसार अध्यादेश फिर्ता भइसकेको छ, अब अहिले नै स्थायी समितिको बैठक बोलाउने स्थिति छैन, आवश्यक परे खुला छलफल गर्न म तयार छु ।’

पछिल्लो समय ओली मनलाग्दो हिसाबले चलेको आरोप लागेको छ । पार्टीको तल्लो तहमा त पहिलेदेखि नै असन्तुष्टि छ । सचिवालयभित्रै ओलीको विपक्षमा माहोल बनेको छ ।

जसकारण सकेसम्म उनलाई गलाउने र नमाने बजेटपछि हटाउने तयारीमा नेकपाका नेताहरु लागेका छन् । यसअघि नै ओलीलाई हटाएर माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल भएको थियो । अहिलेको अवस्थामा सरकार परिवर्तन गर्दा गलत सन्देष जाने भएकाले केही विपद् सकिएलगत्तै ओलीविरुद्ध माहोल बन्ने देखिएको छ । आफ्नै घमन्डका कारण ओली यो अवस्थामा पुगेको नेकपाका एक नेता बताउँछन् ।

यस्तै अवस्था आउन सक्ने ठानेर ओलीले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएको आँकलन गरिएको छ । ४० प्रतिशत सांसदले पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याइएको थियो । चर्को आलोचना भएपछि अध्यादेश खारेज भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News