२०८२ भाद्र १७, मंगलवार ०७:१६

वैदेशिक रोजगारीमा रहेका महोत्तरीका दुईजनालाई आफ्नै साथीले हत्या गरिदिएपछि साउदी सरकारले अर्का साथीलाई मृत्युदण्ड दिएको छ ।

दुई वर्ष अघि साउदी अरबमा वैदेशिक रोजगारीमा रहेका क्रममा महोत्तरीका ५० वर्षीय भाग्यनारायण राय र ४४ वर्षीय सरोजकुमार झालाई कास्कीका ४५ वर्षीय पुष्पराज रानाभाटले सामान्य विवाद हुँदा हत्या गरेका थिए । उनीहरुको हत्या २०८० असोज २ गते नै रानाभाटले गरेका थिए । साउदी अरबको दमामस्थित तल्लो अदालतका अनुसार पुष्पराजले एउटै कोठामा बस्दै आएका राय र झाको रानाभाटले हत्या गरेपछि उनलाई अदालतले मृत्युदण्डको फैसला गरेको थियो ।

साउदी अरबको तल्लो अदालतले आफ्नै दुई नेपाली साथीको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएका रानाभाटलाई साउदी सरकारले मृत्युदण्ड दिएको छ । तीनै तहका अदालतको फैसलालाई दमाम जेल प्रशासनले कार्यान्वयन गर्दै मृत्युदण्ड दिइएको जनाएको छ ।

साउदी अरबको दमामस्थित तल्लो अदालतले जनाए अनुसार रानाभाटले एउटै कोठामा बस्दै आएका राय र झाको २०८० असोज २ गते हत्या गरेका थिए । यस मुद्दामा तल्लो तहको अदालतले मृत्युदण्ड दिने फैसला गरेको थियो ।

सोही फैसलालाई उच्च अदालत र सर्वोच्च अदालतले पनि सदर गरेका थिए । सो घटनामा रानाभाटले कसरी हत्या गरेका थिए, घटनाको पृष्ठभूमि के थियो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भने अहिलेसम्म पनि हुन सकेको छैन । यस घटनाबारे जानकार परराष्ट्र मन्त्रालयका एक अधिकारीले आपसी विवादका कारण हत्या भएको हुनसक्ने भन्दै आशंका गरे पनि विस्तृत विवरण बताउन चाहेनन् ।

साउदी अरबमा सार्वजनिक कानुन अनुसार मृत्युदण्डको सजाय सुनाएपछि पीडित पक्षले ‘ब्लडमनि’ लिएर माफी दिन सक्ने व्यवस्था रहे पनि त्यसका लागि भने औपचारिक रुपमा पीडित र पीडकबीच कुनै पनि किसिमको पहल नभएको देखिन्छ । उनीहरुको परिवारजनले यसबारे अनभिज्ञता प्रकट गरेका छन् । वैदेशिक रोजगारीको क्रममा उनीहरु साउदी अरबमा सामान्य श्रमिक नै थिए ।

साउदी अरबमा मृत्युदण्डको फैसला कार्यान्वयन गर्नुअघि व्यक्तिसँग अन्तिम इच्छा सोध्ने प्रचलन पनि रहेको छ । साउदी सरकारले त्यहाँस्थित नेपाली दूतावासलाई पठाएको पत्रमा रानाभाटले पोखरामा रहेको आफ्नो सम्पत्ति श्रीमती र छोरालाई दिन अन्तिम इच्छा राखेको जनाएको छ । साउदीका लागी नेपाली राजदूत नरेश विक्रम ढकालले मृत्युदण्डको सजाय कार्यान्वयन भइसकेपछि मात्रै दूतावासलाई ढिला गरी जानकारी गराएको दाबी गरे ।

साउदी अरबमा मृत्युदण्ड पाएकाहरुको शव परिवारजनलाई दिने प्रचलन नै छैन । यसअघि २०७९ कार्तिक ६ गते १५ वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई पनि अदालतले मृत्युदण्ड दिएको थियो । दाहालले २००७ फेब्रुअरी २ मा मोरङका आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए ।

त्यस घटनामा गम्भीर घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो । जेठ दोस्रो साता २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ स्थित खुइजेरी, पर्वतका सन्तबहादुर पुनले मृत्युदण्डको दिएको थियो । उनीहरुमाथि स्थानीय ओदा विन अऐदा विन हमोद अल सरारीको हत्या गरेको आरोप थियो ।

२०१७ जुन २१ मा युवराज बनेका मोहम्मद बिन सलमानले सन् २०२२ मा साउदी अरबलाई नयाँ खुला राज्य बनाउने योजना अघि सारेका थिए । ‘एमबीएस’ का रूपमा चिनिने सलमानले योजनाअन्तर्गत हत्याका मुद्दामा बाहेक मृत्युदण्डको सजाय हटाइएको दाबी गरे पनि साउदी अरबमा मृत्युदण्डका घटनामा कमी आएको छैन ।

एमबीएसमाथि सन् २०१८ मा साउदी पत्रकार जमाल खसोग्गीको हत्या आरोप छ । खसोग्गीको टर्कीको इस्तानबुलस्थित वाणिज्य दूतावासमा हत्या भएको थियो । सो घटनापछि साउदी अरब सरकारको पनि निन्दा हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News