लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले देशको सार्वभौमिकता कमजोर भएको भन्दै वक्तव्य जारी गरेको छ । लोसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले एक वक्तव्य जारी गरी नेपालमा बाहिरी शक्तिहरूको तँछाडमछाड सुरु भएको बताएका हुन् ।
“नेपाल देशको सार्वभौमिकता कमजोर भएको छ,” महासचिव डा. झाको वक्तव्यमा भनिएको छ, “बाहिरी शक्तिहरूको तँछाडमछाडले राजजीतिक लेनदेन हुने खतरा रहेकोले सचेत हुन आवश्यक छ ।”
वक्तव्यमा जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्दै अघि बढ्न आग्रह गरिएको छ । देश गम्भीर परिस्थितिबाट गुज्रिदा साक्षी भएको भन्दै अघिल्लो पुस्ताले थालनी गरेको परिवर्तनको संकल्प अधुरो हुँदा जेनजी उत्तराधिकारी भएर आएको भनिएको छ ।
यस्ता छन् ११ बुँदा
१. जेनजी पुस्ताले भ्रष्टाचार निर्मूल गर्न गरेको संघर्षलाई पूर्णतया समर्थन गर्ने ।
२. लोसपाको मित्र एवं आम नागरिकलाई आवश्यक पर्दा सक्दो मद्दत गर्ने ।
३. लोसपा तथा अन्य राजनितिक दलको मित्रहरूसँग निरन्तर सम्पर्कमा बस्ने ।
४. आफ्नो वरिपरि अराजक गतिविधिहरू भए सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रणमा सहयोग गर्ने ।
५. भ्रष्ट र भ्रष्टाचार जन्य गतिविधिमा शून्य सहनशीलता अपनाउने ।
६. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल–२०७२ को संविधान कायम रहेको कुराको पक्षीय संवाद गर्ने ।
७. संघीयता, गणतन्त्र, बहुदलीय प्रतिस्पर्धा, बहुलवाद, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायालय, र धर्म निरपेक्षता नेपाली जनताको वर्षौंको संघर्ष र हजारौँको बलिदानी बाट प्राप्त भएकोले त्यसमा कुनै समझौता नगर्ने ।
८. हाम्रो पुस्ता थुप्रै परिवर्तनको सम्वाहक तथा साक्षी रहेको हुनाले राजनीतिको कठिन भन्दा कठिन परिस्थिति समेत समय अनुकूल परिवर्तन हुने गर्दछ। तसर्थ हतोत्साहित हुने सवाल नै छैन बरु अझ आत्मबल बलियो बनाई परिवर्तनको दिशामा अगाडि बढ़ने ।
९. देशको सार्वभौमिकता कमजोर भएको छ । बाहिरी शक्तिहरुको तँछाडमछाडले राजनीतिक लेनदेन हुने खतरा रहेकोले सचेत हुन आवश्यक छ ।
१०. अराजक्ता, लुट्पाट, आगजनी र हिंसा, जेनजी पुस्ताले गर्ने सवाल नै आउँदैन । जेल तोर्ने, कैदी स्वयम् बाहिर निस्किने जस्ता कार्य अवाञ्छित तत्वहरूले गरेको प्रस्ट भैसकेको छ ।
११. सचेतना, अग्रगामी सोच र सामूहिकता एवं नेपालीको एकताले मात्रै हामी सुन्दर, साझा, साझा र समृद्ध नेपाल बनाउन सक्छौँ ।


