
मधेश प्रदेशको अधिकांश जिल्लामा निषेधाज्ञा तथा कफ्र्यु आदेश जारी गरिएको छ ।
सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सालगायतका जिल्लामा प्रशासन कार्यालयद्वारा निषेधाज्ञा तथा कफ्र्यु जारी गरिएको छ । धनुषा जिल्लाभर जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा तथा कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा चुनौती बढेको भन्दै जिल्लाभर निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार विशेष सुरक्षा अवस्था सिर्जना भएकाले शान्ति–सुरक्षाका दृष्टिले निषेधाज्ञा तथा कफ्र्यु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बिहीबार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू हुनेछ ।
बिहीबार बेलुकी ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म जिल्लाभर कफ्र्यु आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । अत्यावश्यक अवस्थामा निषेधाज्ञा वा कफ्र्यु अवधिभन्दा बाहेक पनि अति अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र आवतजावत गर्ने अनुमति दिइने प्रशासनले जनाएको छ ।